सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरूलाई आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल महासंघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अब सरकार परिवर्तन गर्न लाग्नेहरू निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरूरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ।’
सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उनले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे।
मन्त्री गुरूङले भने, ‘मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो।’ रासस