सभामुख अग्निप्रसाद सापकोटाले संसद पुनःस्थापना भएसँगै दलहरूबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्।
चितवनमा आज पत्रकारहरूसँग कुराकानीमा उनले संसद नियमित चल्ने बताए।
संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद चल्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘पहिले जसरी संसद चलेको थियो। त्यही अनुसार संसद चल्छ। अब दलहरूबीच छलफल र समझदारी हुन्छ।’
राष्ट्रपतिबाट संसद आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद पुनः सञ्चालन गर्ने उनको भनाइ छ।
राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो।
उनले भने, ‘मैले सहजीकरण गर्ने छु। राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन।’
संसद विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए।रासस