म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा हिंसात्मक दमन गरेको छ। आइतबार देशका विभिन्न स्थानमा सुरक्षाकर्मीहरूले गोली चलाउँदा कम्तिमा १८ प्रदर्शनकारीको ज्यान गएको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यंगुन, दावेई, मन्डालय, मेइक, बागो र पाक्कोकु सहरमा ३० जना प्रदर्शनकारी घाइते भएका छन्।
फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले महिनाको अन्तिम दिन आन्दोलनकारीमाथि गोली बर्षाएको हो।
मृत्यु भएकामध्ये एक जना पुरुषको छातीमा गोली लागेको डाक्टरले बताएका छन्।
प्रदर्शनकारीहरूले प्लास्टिकको हेलमेट र अस्थायी फेससिल्ड लगाएर आन्दोलनमा आएका थिए। यद्यपी उनीहरूको आन्दोलन शान्तिपूर्ण हुने गरेको छ। यसअघि सुरक्षाकर्मीले संयम अपनाउने गरेको भए पनि आइतबार धेरै मानिसको ज्यान जाने गरी गोली चलाएका हुन्।
म्यानमारको सरकारी टेलिभिजनले आगामी दिनमा अझ कडा रूपमा सुरक्षाकर्मी प्रस्तुत हुने बताएको छ।
यंगुनमा मारिएकामध्ये एक जना इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ पनि थिए। अघिल्लो दिनमात्रै फेसबुकमा उनले संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जानुपर्ने हो भनेर लेखेका थिए।
राष्ट्र संघका महासचिव एन्टोनिओ गुटरेसले सदस्य राष्ट्रहरूलाई म्यानमारको सत्ता नागरिक सरकारमा फर्काउन एकसाथ र स्पष्ट कदम चाल्न आग्रह गरेका छन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले प्रदर्शनकारीमाथि भएको हिंसाको भत्सर्ना गर्दै अमेरिका म्यानमारका नागरिकको चाहनाको पक्षमा रहेको बताएका छन्।
म्यानमारमा कूको एक महिना बित्दा २१ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले एक जना प्रहरीको पनि ज्यान गएको बताएको छ।