सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको पनि उनले बताए।
‘सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ। वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ,’ सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने।
प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै उनले भने, ‘वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ।’
सरकारले प्रतिबन्धित चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएपछि सो समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ।
सो समूहले वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश सरकारलाई पठाइसकेको छ। सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै उक्त समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सो समूहले भने सरकारलाई औपचारिक रूपमा नै वार्ताको पहल गर्न आग्रह गरिरहेको छ। सो समूहले पहिले प्रतिबन्ध फुकुवा, पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइ गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न सरकारसँग आग्रह गर्दै आएको छ।
(रासस)