नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाएका छन्।
‘देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो’, पौडेलले भने, ‘त्यतिबेला गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ।’
आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको बताउँदै पौडेलले आफूलाई प्रधानमन्त्रीको समेत प्रस्ताव आएको जनाए। विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटार भक्तपुरले गरेको सम्मान एवं रक्तदान कार्यक्रममा उनले आफूमाथि गलत प्रचार गर्न थालिएको भन्दै आपत्ति पनि जनाए।
‘पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछौं, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडेँ,’ उनले भने।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उनको भनाइ छ।
पौडेलले अहिले कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए।
‘कांग्रेसले अहिलेको प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो, मौका आयो भन्दैमा अहिले नै सरकारमा गएर जादु गर्न सकिन्न, कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्ने?, चोचोमोचो मिलाएर सरकारमा जानु हुँदैन, जानै परे कमजोर पक्षलाई समातेर जाने हो, सिधै सरकारमा जाँदा दुर्घटना हुन्छ, संसदीय प्रक्रियाबाटै जानुपर्छ,’ उनले भने।
केन्ददेखि प्रदेश सरकारसम्ममा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणा राख्दै उनले देशमा कायमै रहेको राजनीतिक अस्थिरताको अन्त्य आवश्यक रहेको बताए। देश र लोकतन्त्रमाथि आएको आएको सङ्कट टरेको छैन भन्दै उनले अझै पनि निरङ्कुशता विरुद्धको लडाइँ जारी नै रहेको बताए।
(रासस)