भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेकाले भविष्यमा पटक-पटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने दाबी गरे।
‘विगतमा आयोग गठनमा त्रुटी भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको छ। वर्तमान सरकार परिवर्तन भए पनि आयोग विघटन हुँदैन’, अध्यक्ष ज्ञवालीले भने, ‘भूमि र आवाससम्बन्धी अधिकार संविधानको मौलिक हकमासमेत समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्नु पर्दैन।’
उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने बताउँदै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानूनी कारबाही गरिने बताए।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा धेरै आयोग बने पनि भूमिसम्बन्धी समस्या यथावत् रहेकाले भविष्यमा यस्ता समस्या नदोहोरिने गरी काम गर्नुपर्ने बताए।
उनले भानु नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थितको समस्या जटिल रहेकाले सम्बन्धित सबै पक्ष मिलेर समाधान गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।रासस