चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ।
शुक्रबार बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं संसदको चौंथो अधिवेशनमा बोल्दै प्रधानमन्त्री ली खछ्याङले योसँगै यही वर्ष थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सुनाए।
कोरोनाभाइरसको महामारीको समीक्षा र भावी योजना तय गर्न संसदको बैठक बसेको हो। बैठकमा बोल्दै प्रधानमन्त्री खछ्याङले सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको बताए।
कोरोनाभाइरसको महामारीले संसारका सबै ठूला अर्थतन्त्र थलिएका बेला चीनले गत वर्ष २.३ को आर्थिक वृद्धि हासिल गरेको थियो।
चिनियाँ सरकारको रबर स्ट्याम्प भनेर आलोचना हुने संसदको यो बैठकले चीनका आन्तरिक मामिला र बाह्य सम्बन्धका बारेमा पनि निर्णय गर्नेछ। गत वर्ष चीनले हङकङमा राष्ट्रिय कानुन लागू गरेपछि अब कम्युनिष्ट पार्टीले एक देश दुई व्यवस्था अन्तर्गतको यो सहरलाई कसरी व्यवहार गर्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो छ।
शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री खछ्याङले एक देश दुई व्यवस्थालाई पालना गर्दै हङकङ र मकाउमा चिनियाँ संविधान लागू गर्ने बताएका छन्।