प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ।
तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको थियो।
आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसपूर्व उनलाई कुनै पनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए।
स्वर्गीय गिरीकी ८० वर्षीया श्रीमती छाया र छोराहरू दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन्।
को हुन गिरी?
गिरी परिवारको राजनीतिमा ठूलो योगदान छ। स्वर्गिय लोकमणिका बुवा बलभद्र गिरी विक्रम संवत २०११ सालमै नेपाली कांग्रेसको तत्कालीन सल्लाहकार परिषदको सदस्य थिए। त्यतिबेला उक्त पद अहिलेको राष्ट्रिय सभा वा प्रतिनिधिसभाकै हैसियतको मानिन्थ्यो।
बुवाकै राजनीतिबाट दीक्षित लोकमणि गिरी पनि लोकतन्त्रकै पक्षमा लडिरहे।
सरल र शालिन स्वभावका गिरी नेपाली कांग्रेसभित्र भने जहिल्यै अभिभावकीय भूमिकामा थिए। क्रियाशिल सदस्य उनी कांग्रेसभित्रको राजनीतिमा कहिलै लाभको पदका लागि लडाइँ लडेनन्।
लोकमणि गिरी राप्ती तत्कालीन समयमा राप्ती अञ्चल पञ्चायत निरीक्षण अधिकारी, अञ्चल निर्देशन अधिकारी, तत्कालीन पञ्चायतमा युवा संगठनको केन्द्रीय सदस्य हुँदै पूर्वराष्ट्रिय पञ्चायत सदस्यसमेत भएका थिए।
प्रदेशसभा सदस्य शंकर गिरीका अनुसार २०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए। त्यो बेला चार जनाले जनमत संग्रहका बेला बहुदलको पक्षमा समर्थन गरेका थिए।
चितवनका भीमप्रसाद श्रेष्ठ, बाग्लुङका कुलराज शर्मा, पर्साका राधाकृष्ण कलवार र दाङका लोकमणि गिरीले राष्ट्रियसभा सदस्य हुँदाहुँदै बहुदलको पक्षमा समर्थन जनाएका थिए।
सिंहदरबार ग्यालरीमा स्वर्गीय गिरीले बहुदलको समर्थन गरेर बहुदलकै पक्षमा लागेपछि संसद भवनभित्रै गिरीमाथि पञ्चहरुले कुटपिट गरेको प्रदेशसभा सदस्य गिरीले बताए।
‘२०३६ सालको जनमत संग्रहपछि बहुदल पक्षमा लागेको भनेर उहाँमाथि संसद भवनभित्रै पञ्चहरुले कुटपिट गरेका थिए,जो ऐतिहासिक घटना मानिन्छ,’ प्रदेश सभा सदस्य गिरीले भने, ‘पञ्चयात राजनीतिमा रहँदा पनि उदारवादी खेमामा रहेर उहाँले काँग्रेसजनहरूलाई आन्दोलनमा अदृश्य रुपमा सघाउने गर्नु हुन्थ्यो।’
जातीय परम्परा अनुसार गिरीको समाधि आइतबार पुर्ख्यौलफ घर दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा गाउँमा गरिने भएको छ।
गिरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित नेताहरु दाङ आउने प्रदेश सभा सदस्य गिरीले जानकारी दिए।