नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही नेताबाहेक अन्यलाई मिडियामा बोल्ने अनुमति दिएको छैन।
सार्वजनिक मिडियामा गएर आफ्ना अभिव्यक्ति राख्ने अझै पार्टी हेडरक्वार्टरले अनुमति नदिएको एक नेताले सेतोपाटीलाई बताए।
‘हाम्रो पार्टीमा बलियो अनुशासन हुन्छ,’ ती नेताले भने, ‘पार्टी हेडक्वार्टरको अनुमतिबिना हामी अहिले नै मिडियामा बोल्न पाउँदैनौं।’
उनले परिवर्तित राजनीतिक अवस्थाका बारेमा पार्टीको विचार सार्वजनिक रूपमा राख्न महासचिव विप्लव, प्रवक्ता वा वार्ता समितिका सदस्यबाहेक मंगलबारसम्म कसैलाई पनि अनुमति प्राप्त नभइसकेको जानकारी दिए।
‘अहिलेको अवस्थाका बारेमा बोल्न त हामीलाई पनि मन छ नि,’ उनले भने ‘अहिले नै पार्टीले अनुमति नदिँदै बोल्यो भने पार्टीले कारबाही गर्न सक्छ भन्ने डर हुन्छ।’
सरकारसँग ३ बुँदे सहमतिपछि फागुन २१ गते काठमाडौंमा प्रधानमत्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट महासचिव विप्लव सार्वजनिक भएका थिए।
उक्त दिन दाङमा ठाउँ-ठाउँमा कोणसभा भएका थिए। उक्त पार्टीका जिल्ला इञ्चार्ज प्रदीप वलीले तुलसीपुरको बीपी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूहरूले संसदीय व्यवस्थालाई स्वीकार गरेको भन्ने कुरा भ्रम मात्रै रहेको बताएका थिए। उनले वार्ता क्रान्तिको एउटा सचेत कदम भएको भन्दै त्यसलाई जतिसक्यो उपयोग गर्ने तर्क गरेका थिए।