संयुक्त राज्य अमेरिकामा आगामी मे १ पछि १८ वर्षमाथिका सबैले कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन्।
कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गर्नु परेको ठ्याक्कै वर्ष दिनपछि शुक्रबार सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै प्रान्तीय र स्थानीय सरकारलाई मे १ सम्म सबै वयस्क नागरिकलाई कोरोनाको खोप लगाउन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
बाइडेनले आगामी जुलाई ४ सम्ममा अमेरिकी जीवन सामान्य अवस्थामा फर्काउन सकिने पनि बताएका छन्। जुलाई ४ अमेरिकी स्वतन्त्रता दिवस हो। उक्त दिन परिवार वा छिमेकीसँग सँगै खाना पकाएर खाना सकिने अवस्था बनाउन लाग्नु पर्ने बाइडेनले बताएका छन्।
सम्बोधनका क्रममा बाइडेनले अमेरिकीमा आशा र चेतावनीको सन्देश दिएका छन्।
सम्बोधन गर्नुअघि उनले १९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। उक्त राहत प्याकेज आजैदेखि लागू हुनेछ। यो राहत प्याकेजले कोरोनाले शिथिल भएको अमेरिकी अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।
बाइडेनले खोपसँगै मास्क लगाउने, भौतिक दूरी कायम राख्ने कुरालाई पनि निरन्तर पालना गर्न भनेका छन्।
'गत वर्ष हामी सबैले केही न केही गुमायौं। यो धेरै जीवन गुमेको वर्ष भयो। तर त्यही गुमाउनुमा पनि कति पाउनु छ भन्ने हामीले देख्यौं,’ बाइडेनले भने,‘प्रशंसा, सम्मान र कृतज्ञता। अँध्यारोमा प्रकाश खोज्नु हरअमेरिकीले गर्नुपर्ने कुरा हो।'
अमेरिकामा पछिल्लो समय विभिन्न कम्पनीका खोपहरू प्रयोग भइरहेका छन्। अहिलेसम्म १० प्रतिशत अमेरिकीहरू कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकेको बताइएको छ।
*शीर्षक सम्पादन गरिएको