भारतीय राज्य उत्तराखण्डका नयाँ मुख्यमन्त्री तिर्थसिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दुहरूका भगवान रामसँग तुलना गरेका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै चार दिनअघि मुख्यमन्त्री बनेका रावतले पछि रामको जस्तै मानिसहरूले मोदीको पनि पूजा गर्ने दाबी गरे।
'अहिले संसारभरिका नेताहरू हाम्रा प्रधानमन्त्री मोदीसँग फोटो खिच्न लाइन लाग्छन्। हाम्रा राष्ट्रप्रमुखलाई विश्वका नेताहरूले वास्ता नगर्ने पहिलाको कुराभन्दा यो फरक छ। अहिले नरेन्द्र मोदीका कारण परिस्थिति बदलिएको छ। यो उनले बनाएको नयाँ भारत हो,' रावतले भने।
'मोदी जिन्दावाद' को नारा लगाउँदै रावतले मोदीलाई रामजस्तै भएको बताए।
'पहिला जसरी रामले समाजका लागि राम्रो काम गर्नुभयो र मानिसहरूले उहाँलाई भगवान भन्न थाले, भविष्यमा त्यही कुरा हाम्रा प्रिय प्रधानमन्त्रीका हकमा पनि लागू हुनेछ,' उनले भने।
एक वर्ष कार्यकाल बाँकी छँदै त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएपछि गत साता तिर्थसिंह नेपालसँग सीमा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री बनेका थिए। उत्तराखण्डमा २०१७ मा भएको विधान सभा चुनावमा भारतीय जनता पार्टीले ७० मध्ये ५७ सिट जितेको थियो।