नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले देशलाई निकास दिनका लागि अब निर्वाचनको विकल्प नरहेको बताएका छन्।
नेपाली कांग्रेस दाङले मंगलबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थितिबाट निकास दिनका लागि निर्वाचनको विकल्प नरहेको बताएका हुन्।
‘अबको निकास भनेको निर्वाचन हो,’ कोइरालाले भने, ‘निर्वाचन भएन भने देशमा थप जटिल परिस्थिति आउने छ।’
यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधानविपरीत भएकाले कांग्रेसले विरोध गर्नुपरेको भन्दै उनले अब हुने निर्वाचन कांग्रेसले मात्रै गराउन सक्ने दाबी गरे।
‘देशलाई अप्ठ्यारो परिस्थितिबाट निकास दिनका लागि अबको विकल्प भनेको निर्वाचन हो,’ कोइरालाले भने,‘निर्वाचनका लागि दलहरू मिलेर उपयुक्त समय छान्नुपर्छ।’
उनले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने भएकाले दलहरू मिलेर अल्पमतको सरकार गठन गर्नुपर्ने धारणा राखे। त्यस्तै, उनले आगामी मंसिर वा चैत महिना निर्वाचनका लागि उपयुक्त समय हुने बताए।
‘निर्वाचन गराउने हो भने चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्न उपयुक्त हुने छ,’ उनले भने ‘तर, त्यसका लागि काँग्रेसले अहिले पार्टीको महाधिवेशन मितिलाई ध्यानमा राख्नुपर्छ।’
नेता कोइरालाले कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए। ‘अहिलेको परिस्थितिमा कांग्रेस सही रुपमा चल्न सकेन, यसको कारण भनेको नेतृत्व उपयुक्त नहुनु हो,’ कोइरालाले भने–‘अब पार्टीलाई सही ढंगले अघि बढाउन, कार्यकर्ताको भावना बुझ्ने नेतृत्वको अपरिहार्यता छ ।’
आउने महाधिवेशनबाट कार्यकर्ताहरुलाई गुटको भन्दा पार्टीको नेता छान्न समेत उनले आग्रह गरे।
कांग्रेस जनताबाट टाढा हुँदा पार्टी कमजोर बन्न पुगेको भन्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरुलाई जनतासँगको दुरी कम गर्न आग्रह गरे।
उनले जनताका हरेक दुःख र सुखमा साथ दिन समेत आग्रह गरे।