पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनमा संक्रमण पुष्टि भएको शुक्रबार पाकिस्तानी स्वास्थ्य मन्त्री फेसल सुल्तानले जानकारी दिएका हुन्।
६८ वर्षीय प्रधानमन्त्री खान सेल्फ आइसोलेनमा रहेको सुल्तानले ट्वीटरमा लेखेका छन्।
दुई दिन अघि मात्रै उनले कोरोना भाइरसविरूद्धको पहिलो खोप लिएका थिए। उनमा कोरोनाका केही लक्षण देखा परेको र घरबाटै काम गर्ने पाकिस्तानी समाचार पत्र डनले जनाएको छ।
खान पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन्। उनी सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पाकिस्तानमा अहिलेसम्म १३ हजार ७ सय ९९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै ६ लाख २३ हजार १ सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ।