तुलसीपुर उपमहानगर वडा नम्बर ११ ‘मालेडाँडा’की ७४ बर्षीया गायात्रा शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारे तारान्तार आइरहने खबरले आत्तिएकी छन्।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपालबीच विवाद छ। नेताहरूबीच जुँगाको लडाइँले कतै सग्लो एमाले छिन्नभिन्न हुने त होइन भन्ने चिन्ता उनमा छ।
‘एमाले फुट्नै हुन्न। व्यक्तिगत दम्भ, स्वार्थ र कुर्सीका लागि पार्टी फुटाएर भविष्य समाप्त पार्ने? यस्तो गर्न मिल्दैन। एमाले मिलेर जानुपर्छ नभए त पार्टीको भविष्य राम्रो हुँदैन भन्नेमा म छु,’ उनले सेतोपाटीसँग भनिन्।
यो गाउँमा दुई सय बढी घर छ। अधिकांश एमाले समर्थक छन्। यो गाउँको नाम मालेडाँडा रहनुको पनि अर्थ छ। वामदेव गौतमलगायत नेताहरूले एमाले विभाजन गरेर नेकपा माले बनाएपछि कटाँहा गाउँ अन्तर्गत पर्ने डोर्येको नाम परिवर्तन गरेर मालेडाँडा राखिएको थियो।
तर यहाँका मानिसहरूले अहिले भने वामदेव गौतम निकट छैनन्। उनीहरू अध्यक्ष ओलीनिकट छन्। साथै उनीहरूले नेता माधव नेपाल पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकट भएकोमा आफूहरू खुसी नरहेको पनि बताए।
‘हामी पहिदेखिकै एमाले हो। माओवादी भइएन,’ उनले भनिन्। यहाँका अधिकांश मानिस प्रधानमन्त्री ओलीप्रति नजिक छन्। ओलीले राष्ट्रियताका पक्षमा अडान लिएको उनीहरू तर्क गर्छन्।
स्थानीय ३८ वर्षका टेकबहादुर ओली रिक्सा चालक हुन्। उनको राजनीतिक आस्था नेकपा एमालेतिर रहेछ। उनलाई पनि नेताहरूबीच हुने गरेका झगडा राम्रो लागेको छैन।
‘यति ठूलो एमाले फुट्यो भने के होला भन्ने पीर छ,’ उनले भने, ‘ओली र नेपाल मिल्न नसके त पार्टीलाई ठूलो क्षति पो पुग्नेवाला छ।’ उनले नेता तथा कार्यकर्ताले पार्टी विभाजनविरूद्ध खवरदारी गर्नुपर्ने बताए।
एमालेबीच झगडा हुनुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप छ, यस गाउँकी ६३ वर्षिया सीता भण्डारीको।
‘पहिले एकपटक प्रचण्डको पार्टीलाई पनि भोट दिएका हौं। काम गर्न सक्नुभएन। अहिले अर्काको बुई चढेर अनेक खेल खेल्न खोज्ने? आफूले काम गर्न नसक्ने अरूलाई काम गर्न नदिने?,’ उनले प्रश्न गरिन्। पार्टी एकताका लागि खवरदारी गर्दै युवालाई नेतृत्वमा पुर्याउनु पर्ने उनले बताइन्।
‘प्रधानमन्त्री भइसकेकाहरू फेरि प्रधानमन्त्री हुन कति लालायित हुन्?,’ उनले भनिन्, ‘ओलीलाई पनि सत्ताको लोभ देखिन्छ। खबरहरू सुन्दा पनि म त छक्क पर्छु।’
यहाँका विद्यार्थी पनि राजनीतिप्रति चासो राख्छन्। कक्षा १२ का विद्यार्थी सुनिल खत्रीले प्रधानमन्त्री ओलीले प्रशंसा गरे।
‘उहाँकै पालामा काठमाडौंमा मेलम्चीको पानी आयो,’ उनले भने, ‘पाँच वर्ष ओलीलाई नै काम गर्न दिएको भए हुने!’ सग्लो एमाले फुट्न नहुने उनी बताउँछन्। तर नेताहरूले देश विकासका काममा ध्यान दिनुपर्ने उनको भनाइ छ।
पार्टीभित्रका झगडाले अन्यौलता सिर्जना भएको स्थानीय ६० वर्षका पदमबहादुर बस्नेतको भनाइ छ।
‘वामदेवका पालामा हामी सबै माले भइयो, त्यसपछि एमाले भयौं,’ उनले भने, ‘अब फेरि पार्टी फुट्यो भने कता जाने? के गर्ने भन्ने चिन्ता पनि छ।’
उनले नेता एक भए कार्यकर्ता मिल्ने पनि बताए।
‘माथिबाट एकजुट हुने हो भने तल्लो तहका कार्यकर्ता मिल्छन्। पार्टी एक हुन्छ,’ उनले भने, ‘एक भएनन् भने हामी कुन बाटो हिँड्ने भन्ने अन्यौलता छ। ओलीको, नेपालको वा वामदेवको, कसले हिँडेको बाटो हिँड्ने?’ उनले प्रश्न गरे। पार्टीभित्र झगडाले कार्यकर्ता विचलित भएको उनको भनाइ थियो।
यहाँका कतिपयले माओवादीसँग एमालेले एकता गर्न हुन्नथ्यो भन्छन्। त्यसैमध्येका एक हुन्, ७२ वर्षका ओकसिंह विक।
‘माओवादीसँग एकता गर्न हुन्नथ्यो, गल्ती भयो,’ उनले भने, ‘अहिलेको झगडा प्रचण्डको महत्वकांक्षाले भएको हो।’
मदन भण्डारीहरूले निर्माण गरेको पार्टीमा अहिले व्यक्तिगत स्वार्थमा नेताहरू भुलेको उनले बताए। नेताहरूमा इमान र नैतिकता हराएको पनि उनले बताए।
उनले नेता नेपाल आफूलाई मनपर्ने भए पनि गुटबन्दी चलाएकोमा खुसी नलागेको बताए। उनले एमालेले सुरू गरेको वृद्धभत्ता अझै बढाउनुपर्ने पनि बताए। ‘बृद्धभत्ता ल्याउने एमाले हो। यस्ता असल काम गर्ने नेताहरूको बुद्धि अहिले के भइरहेको हो?,’ उनले भने।