दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ।
मस्तिष्कघातका कारण शुक्रबार बेलुका नर्भिक अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।उहाँको पार्थिव शरीरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागबत्ती दिए।
अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।
सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
स्व जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए।