संयुक्त राज्य अमेरिकामा फेरि एक जना श्वेत प्रहरीले अश्वेत युवकलाई गोली हानेको घटनाले तरंग ल्याएको छ।
आइतबार मिनोसोटा राज्यको मिनियापोलिसमा ट्राफिक स्टपमा प्रहरीले चलाएको गोली लागेर २० वर्षीय अश्वेत युवक डअन्ट राइटको घटनास्थलमै मृत्यु भएको थियो।
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा रोक्दा उनी अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्ति हुन भन्ने थाहा पाएपछि प्रहरीले राइटलाई नियन्त्रणमा लिन खोजेका थिए। राइटले गाडी पछाडि लिन खोजेपछि एक जना महिला प्रहरी अधिकारीले उनलाई गोली हानेकी थिइन्। घटनामा परी गाडीमा रहेकी राइटकी प्रेमिका पनि घाइते भएकी छन्।
गत वर्ष घुँडाले घाँटी थिचेर जर्ज फ्लोइडको ज्यान लिएको आरोप लागेका श्वेत प्रहरी अधिकारीको मुद्दामा सुनुवाइ भइरहेका बेला राइटमाथि गोली हानेको खबरले मिनियापोलिसमा एकाएक तनाव सिर्जना भएको थियो।
आइतबार साँझ उनको सम्झनामा भेला भएका मानिसहरूले सुरूमा शान्तिपूर्ण प्रदर्शन गरे पनि केहीबेरमा हिंसात्मक गतिविधि भएका थिए। उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ।
ट्वीन सिटिज क्षेत्रमा हिंसात्मक घटना हुन सक्ने ठानेर प्रशासनले सोमबार साँझ ७ देखि मंगलबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको छ। अरू सहरहरूमा पनि प्रदर्शन भएका थिए।
यसैबीच प्रहरीले भने राइटमाथि झुक्किएर गोली हानेको दाबी गरेको छ। सोमबार एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले ब्रुकलिन सेन्टर पुलिस डिपार्टमेन्टकी ती प्रहरी अधिकारीले टेइजर (केहीबेरलाई इलेक्ट्रिक सक दिने बन्दुक) चलाउँछु भन्दा झुक्किएर गोली हानेको बताएको छ।
राइटलाई गोली लागेपछि नै उनले 'हत्तेरिका मैले त गोली हानें' भनेको भिडिओमा सुनिन्छ। झुक्किएर गोली हानेको भए पनि ती प्रहरी अधिकारीलाई जागिरबाट निकालिनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
'हामीलाई अश्वेत समुदायको आक्रोश, पीडा र दु:ख वास्तविक हो भन्ने थाहा छ,’ बाइडेनले ह्वाइट हाउसमा भने,‘योसँगै लुटपाटको कुनै पनि औचित्य छैन। हिंसाको कुनै औचित्य छैन। शान्तिपूर्ण प्रदर्शन हुन सक्छ।'
गत वर्ष जर्ज फ्लोइडको मृत्यु भएपछि मिनिसोटाले प्रहरी कानुनको संशोधन गर्ने बताएको थियो। राइटको मृत्युपछि गभर्नर टिम वाल्जले अब छिटै उक्त संशोधन पारित गर्ने बताएका छन्।