फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने जापानको निर्णयप्रति छिमेकी दक्षिण कोरियाले आपत्ति जनाएको छ।
दक्षिण कोरियाका लागि जापानी राजदूत कोइची अइबोसीलाई बोलाएर कोरियाले उक्त निर्णयप्रति आपत्ति जनाएको हो। जापानको निर्णयविरूद्ध कोरियालीहरूले जापानको दूतावास र महावाणिज्यदूतावास अगाडि प्रदर्शनसमेत गरेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले अधिकारीहरूलाई जापानको निर्णयविरूद्ध कानुनी उपचारमा जान पनि निर्देशन दिएका छन्।
दक्षिण कोरियाले प्रदुषित पानी समुद्रमा छोड्दा समुद्रको पानी र त्यहाँको जैविक प्रणालीमा क्षति पुग्ने भएकाले त्यसो गर्न नहुने बताउँदै आएको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले जापानको निर्णयपछि अमेरिका र चीनका अधिकारीहरूसँग पनि यस विषयमा कुराकानी भइसकेको जनाएको छ।
फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले स्टेशनमा जम्मा भएको पानी छोड्न लागेको हो। जापानी अधिकारीहरूले गत मंगलबार उक्त योजनाबारे जानकारी दिएका थिए।
अबको दुई वर्षमा पानी छोड्ने क्रम सुरू हुने र सबै पानी समुद्रमा फाल्न दशक लाग्न सक्ने बताइएको छ।
'नियामक मापदण्डहरूको कडा पालना गर्दै पानी समुद्रमा छोड्न निर्णय भएको छ,' जापान सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त पानीमा भएका हानिकारक कुराहरूलाई नष्ट गर्न फेरि फिल्टर गर्नु पर्ने हुन्छ।
टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यस्तो निर्णय गरेको हो। टोकियो ओलम्पिकका केही खेल फुकुसिमा प्लान्टबाट ६० किलोमिटर पर आयोजना गरिएका छन्।
सन् २०११ को सुनामीले फुकुसिमा आणविक प्लान्टमा क्षति भएको थियो। त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको छ।