अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कन 'सरप्राइज भिजिट' अफगानिस्तान आइपुगेका छन्।
पूर्वनिर्धारित कार्यक्रमबिनै विदेश मन्त्री ब्लिन्कन बिहीबार दिउँसो राजधानी काबुल आइपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
काबुलमा ब्लिन्कनले अफगान राष्ट्रपति असरफ घानीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा ब्लिन्केनले घानीलाई आफूहरूको सहकार्य परिवर्तन भए पनि यो सधैँ रहिरहने बताएका छन्।
राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गरेको केही समयपछि नै ब्लिन्कन काबुल पुगेका हुन्।
यसअघि घानी र बाइडेनबीच टेलिफोनमा कुराकानी भएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक आउने सेप्टेम्बर ११ सम्म फिर्ता हुने घोषणा गरेका छन्।
ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले ट्विन टावरमा आक्रमण भएको बीस वर्ष पुग्ने दिनअघि नै अफगानिस्तानबाट सैनिक फिर्ता हुने बताएका हुन्। अहिले अफिगानिस्तानमा अमेरिका र अन्य नाटो राष्ट्रका झन्डै १० हजार सैनिक छन्।
सैनिकहरूको फिर्ता आउने मे १ बाट सुरू बताइएको छ।
अफगानिस्तानमा तालिवानविरूद्ध अमेरिकाले युद्ध सुरू गरेपछि अमेरिकामा चार जना राष्ट्रपति भएका छन्।
'म यो काम पाँचौं राष्ट्रपतिलाई पनि दिन चाहन्नँ,’ बाइडेनले भने।
बाइडेनको घोषणापछि विज्ञप्ति जारी गर्दै नाटो सदस्य राष्ट्रले व्यवस्थित तरिकाले सैनिकहरू फिर्ता गर्ने जनाएका छन्।
अमेरिकी फौज कुनै मुलुकमा झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो। कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रूपमा लिएका छन्।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौतापश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। झन्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना अमेरिकी सैनिक छन्।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुने क्रम रोकिएको छ।
झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरूप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाई सार्वजनिक भएको हो। यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन्।
ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ। तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ। सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो।
विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ। राष्ट्रिय गुप्तचर निकायका प्रमुखले मङ्गलबार सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूहरुले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ।
धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनः कब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन सङ्घर्ष गर्नु परेको प्रतिवेदनमा छ।
अफगानी नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ।
सुन्नी इस्लामको बहुसंख्या रहेको तालिबान समूहले सन् १९९६–२००१ मा आफू सत्तामा रहँदा महिलालाई विद्यालय, कार्यालय, संगीत र दैनिक जीवनका धेरै कामहरुमा निषेष गरेका थिए। दुई दशकपछि स्कुले विद्यार्थीमध्ये हाल झण्डै ४० प्रतिशत छात्राहरु छन्।
संयुक्तराज्य अमेरिकाले महिला अधिकार र बालिका शिक्षालाई प्रबद्र्धन गर्न गैरसैनिक साधनको प्रयोगलाई बढावा दिने नीति लिने अमेरिकी अधिकारीहरुको भनाइ छ।
तालिबान र अफगान सरकारबीच भइरहेका वार्तामा महिलाको सहभागितालाई लगभग निषेध गरिएको छ। महिला अधिकारवादीहरुले अफगानी नेताहरुको यस्तो रबैयाले निकै सङ्घर्षका साथ प्राप्त अधिकार कुण्ठित हुने खतरा औंल्याएका छन्।