चीनले भारतलाई कोरोनाभाइरसको महामारीविरूद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको छ। यी दुई मुलुकबीच सीमा विवादका कारण केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध जारी छ।
पछिल्लो समय भारत कोभिड-१९ को संसारकै हटस्पट बनेका बेला छिमेकी चीनले सहयोग गर्ने प्रस्ताव गरेको हो।
'कोरोनाभाइरसविरूद्धको लडाइँमा चिनियाँ सरकार भारतीय जनता र सरकारको पक्षमा छ। भारतको आवश्यकताअनुसार चीन सरकार सहयोग गर्न तयार छ। यस विषय भारतीय पक्षसँग कुराकानी पनि भइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्।
एकातिर दैनिक साढे ३ तीन लाख संक्रमित थपिइरहेका र अर्कातिर अमेरिकाले खोप बनाउन चाहिने सामग्रीको आपूर्ति रोकेका बेला भारतलाई चीनले सहयोगको प्रस्ताव राखेको हो।
भारतमा अहिलेसम्म चीनले बनाएको भ्याक्सिनलाई प्रयोग अनुमति दिइएको छैन।
संक्रमित थपिएसँगै भारतका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको छ। भारतले सिंगापुरलगायत मुलुकबाट अक्सिजन ल्याउन लागेको छ। यस्तो बेलामा चीनले महामारीविरूद्ध लड्न सघाउने प्रस्ताव गरेको हो।
चिनियाँ प्रस्तावमा भारत सरकारले के जवाफ फर्कायो भन्ने बाहिर आइसकेको छैन।