राष्ट्रिय सभा सदस्यको आगामी उपनिर्वाचनका लागि यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ।
वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ।
यही वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
स्वीकृत कार्यक्रमअनुसार, वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजूरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजूरी दिने निर्वाचन कार्यतालिका छ।
आयोगका अनुसार, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने कार्यक्रम छ।
(रासस)