नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएका छन्।
माओबादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डाँगी माओवादी, नेपाली कांग्रेस, जनता समाजबादी पाटी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको दाबी सेतोपाटीसँग गरेकी छन्।
‘अस्ति नै त्यो कुरा हामीले प्रदेश प्रमुखको कार्यालय घेराउ गर्ने क्रममा अमर डाँगी हाम्रो पक्षमा आएको अवगत गराएका थियौं, त्यही भएर हाम्रो पक्षका ४३ सदसयको हस्ताक्षर बुझाएका थियौं,’ शर्माले भनिन्, ‘तर, हाम्रो आवाज नसुनेर जोर जवरजस्ति अल्पमतमा रहेका शंकर पोखरेललाई सपथ ग्रहण गराउने अलोकतान्त्रिक र असंवैधानिक खेल भयो।’
शर्माले तीन दिन अगाडि नै एमालेबाट निर्वाचित डाँगीले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्दै आफूहरू सँगै मुख्यमन्त्रीको बिरोधमा धर्ना बसेको बताइन्।
‘विधि र विधान मिचेर हिँड्ने पोखरेलेविरूद्धमा उभिने उच्च नैतिक साहस डाँगीज्यूले देखाउनु भएको छ,’ उनले भनिन्, ‘पोखरेलको तानाशाही प्रवृत्तिका बिरूद्ध बिस्तारै अन्य साथीहरू पनि हाम्रो गठबन्धनलाई समर्थन गर्दै जानुहुने विश्वास छ।’
डाँगी मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता हुन्। यअसघि उनी एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे। डाँगी पार्टी भित्र एक हक्की, निस्कलंक र बफादार नेताको छबि बनाएका नेताको रुपमा हेरिन्छन्।
उनले राजनीतिका लागि प्रधानाध्यापकको जागिरसमेत त्यागेका थिए।
नेकपा एमाले दाङको संगठन निर्माण र विस्तारमा उनको ठूलो योगदान रहेको छ। उनी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन्।
डाँगी पनि ४ दलीय गठबन्धनको पक्षमा लागेको चर्चासँगै मुख्यमन्त्रीको आगामी राजनीतिक यात्रा थप जटिल बनेको आंकलनहरु हुन थालेका छन्।
डाँगीको मोबाईल स्वीच अफ रहेको हुँदा उनकै प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन।