उत्तरपूर्वी भारतीय राज्य असममा भारतीय जनता पार्टी (भाजपा)का हिमान्ता विश्व शर्मा नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। विधानसभा चुनावको नतिजा आएको छ दिन पछि असमको मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको हो।
आइतबार गुवाहटीमा बसेको भाजपाका सासंदहरूको बैठकले असमका स्वास्थमन्त्री समेत रहेका शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
असम भाजपाका अध्यक्ष सर्वानन्द सोनोवाल र सासंद नन्दिता सर्लोसाले बैठकमा शर्मालाई मुख्यमन्त्री बनाउन सिफारिस गरेको इन्डिया टुडेले जनाएको छ। सर्वानन्द अहिले असमका मुख्यमन्त्री छन्।
उनले आइतबार राजीनामा दिएका छन्। शर्मा मुख्यमन्त्री हुने भएपछि उनले आइतबार गभर्नर जगदीश मुखीलाई राजीनामा बुझाएका हुन्।
चुनावअघि भाजपाले जितपछि मुख्यमन्त्री को बन्ने भन्ने खुलाएको थिएन। यसअघि सोनोवाल मुख्यमन्त्री भएको हुँदा अहिले पनि उनी नै हुन्छन् भन्ने अनुमान लगाएको थियो।
चुनाव जितेको छ दिनपछि शर्मालाई मुख्यमन्त्री बनाउने भाजपाले निर्णय लिएको हो।
चुनावमा भापजाले १२६ सिटमा ६० सिट जितेको छ। त्यस्तै, असम गन परिषद् (एजिपी)ले ९ र युनाइटेड पिपल्स पार्टी लिबरल (युपिपिएल)ले ६ सिट जितेको हो।