उत्तरपूर्वी भारतीय राज्य असममा भारतीय जनता पार्टी (भाजपा)का हिमान्ता विश्व शर्माले मुख्यमन्त्रीको सपथ लिएका छन्।
सोमबार उनले असमको गुवाहटीस्थित गभर्नर जगदीश मुखीको कार्यालयमा सपथ लिएका हुन्। विधानसभा चुनावको नतिजा आएको छ दिनपछि आइतबार भाजपाले शर्मालाई असमको मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
सपथ लिएसँगै शर्मा असमका १५ औं मुख्यमन्त्री बनेका छन्।
शर्माले मुख्यमन्त्रीको सपथ लिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले ट्विट गर्दै शर्मालाई बधाई दिएका हुन्।
'बधाई छ हेमान्ता विश्व जी र अरू मन्त्रीहरूलाई जसले आज सपथ लिए। म विश्वस्त छु की यो टोलीले असमको विकासको यात्रामा गति लिन्छ र जनताको आकांक्षाहरू पूरा गर्नेछ,' मोदीले लेखेका छन्।
आइतबार गुवाहटीमा बसेको भाजपाका सासंदहरूको बैठकले शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
असम भाजपाका अध्यक्ष सर्वानन्द सोनोवाल र सासंद नन्दिता सर्लोसाले बैठकमा शर्मालाई मुख्यमन्त्री बनाउन सिफारिस गरेका थिए। यसअघि सर्वानन्द असमका मुख्यमन्त्री थिए।
उनले आइतबार राजीनामा दिएका थिए। शर्मा मुख्यमन्त्री हुने भएपछि उनले आइतबार गभर्नर जगदीश मुखीलाई राजीनामा बुझाएका हुन्।
चुनावअघि भाजपाले जितपछि मुख्यमन्त्री को बन्ने भन्ने खुलाएको थिएन। यसअघि सोनोवाल मुख्यमन्त्री भएको हुँदा अहिले पनि उनी नै हुन्छन् भन्ने अनुमान लगाएको थियो।
चुनाव जितेको छ दिनपछि शर्मालाई मुख्यमन्त्री बनाउने भाजपाले निर्णय लिएको हो।
चुनावमा भापजाले १२६ सिटमा ६० सिट जितेको छ। त्यस्तै, असम गन परिषद् (एजिपी)ले ९ र युनाइटेड पिपल्स पार्टी लिबरल (युपिपिएल)ले ६ सिट जितेको हो।