कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतले देशभित्रै कोरोनाविरूद्धको खोपको माग अत्याधिक भए पनि नेपाललगायत छिमेकी मुलुकमा छिटै खोप निर्यात गर्नु पर्ने कुरा उठ्न थालेको छ।
टाइम्स अफ इन्डियाले बंगालदेश, नेपाल र माल्दिभ्सलगायत देशमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेकाले उनीहरूलाई भारत सरकारले खोप दिनु पर्ने विचार प्रकाशन गरेको छ।
तीमध्ये पनि माल्दिभ्स र नेपालको अवस्था दिनदिनै बिग्रिरहेकाले यो क्षेत्रको ठूलो मुलुक हुनुका नाताले भारतले उनीहरूलाई खोप दिनु पर्ने बताइएको छ।
पछिल्लो समय माल्दिभ्समा परीक्षण गरिएकामध्ये ६० प्रतिशतलाई कोरोना देखिएको छ भने नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।
गत वर्ष भारतले नेपाललगायत छिमेकी मुलुकलाई कैयौं लाख खोप अनुदानमा उपलब्ध गराएको थियो।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाम दिएर उत्पादन गरिरहेको छ।
सेरमसँग नेपाल सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। त्यसअनुसार १० लाख डोज खोप आइसकेको छ भने बाँकी १० लाखका लागि पनि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ।
सम्झौताअनुसार सेरमले बाँकी १० लाख डोज खोप नेपाललाई दिएको छैन। सेरमले बाँकी खोप नदिएपछि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज कहिले पाउँछन् भन्ने अन्यौल भएको छ।
सरकारले सेरमसँग थप १० लाख डोज पनि किन्ने सम्झौता भइसकेपछि त्यहीअनुसार ६५ वर्ष माथिका नागरिकलाई पहिलो डोज दिएको थियो।
भारतले कोरोनाको दोस्रो लहर फैलिनुअघि छिमेकीलगायत मुलुकमा झन्डै साढे ६ करोड डोज भ्याक्सिन निर्यात गरेको थियो। दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि गत अप्रिल अन्तिम साताबाट भारतले खोप निर्यात रोकेको थियो।
सरकारले सुरूमा आफ्ना नागरिकलाई खोपको सुनिश्चितता नगरी निर्यात गरेको भन्दै भारतमा अहिले आलोचना भइरहेको छ। राजधानी नयाँदिल्लीका सडकमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै पोस्टरहरू टाँसिएका छन्।
'मोदीजी, हाम्रा बच्चाहरूको भ्याक्सिन विदेशीलाई किन पठाइयो?' लेखिएका पोस्टर दिल्लीका बिजुलीका पोलमा जताततै भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसरी पोस्टर टाँसेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।