उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताएका छन्।
शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताए।
उनले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘अक्सिजन र भ्याक्सिनका लागि जि टू जिबाट लिए पनि, बि टू बि बाट लिए पनि जुनसुकै तरिकाबाट लिए पनि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो। त्यसमा जतिसुकै बजेट लागोस्। जहाँसुकै भन्नु परोस्। सरकारको प्राथमिकता हो। अक्सिजन छिमेकी मुलुक भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ। चीनबाट पनि अक्सिजन भरिएका सिलिण्डरहरू हामीले प्राप्त गर्न थालेका छौं। निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ।’
उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी राष्ट्रहरूबाट स्वास्थ्य सामग्री सहयोग आएको भन्दै स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताए।काठमाडौंको सामाखुसीमा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ।
अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीहरूलाई बचाउनको निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डा. सुमनलाल डंगोलले बताए। केन्द्रमा अरू स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने बिरामीलाई अस्पतालले रिफर गरे अनुसार थेरापीमार्फत अक्सिजन दिइने उनले जानकारी दिए।