'युरोपका अन्तिम तानाशाह' को उपनामले चिनिने बेलारूसका शासक एलेक्जेन्डर लुकासेन्कोले आफ्ना विरोधीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय यात्रुवाहक जहाजलाई नै 'हाइज्याक' गरिदिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार ग्रिसको एथेन्सबाट लिथुआनियाको राजधानी भिल्निअस गइरहेको जहाजलाई ह्याइज्याक गरेर मिन्स्कको विमानस्थलमा अवतरण गर्न लगाएका हुन्।
१७० यात्रु बोकेको रायनएअरको बोइङ ७३७-८०० जहाज बेलारूसको आकाशमाथि आएपछि मिन्स्कका एयर ट्राफिकहरूले पाइलटलाई जहाजमा बम रहेको भन्दै आफ्नो विमानस्थलमा अवतरण गर्न भनेका थिए। जबकी मिन्स्कभन्दा उक्त जहाजलाई गन्तव्य भिल्निअस जान नजिक थियो।
जहाज आफूले भनेजसरी नआउला भनेर राष्ट्रपति लुकासेन्कोले स्कर्टिङ गर्न सेनाको फाइटर जेट पठाएका थिए।
यत्रो मेहनत गरेर जहाज हाइज्याक गर्नुको कारण थियो जहाजमा रहेका एक जना यात्रुलाई पक्रनु। २६ वर्षीय पत्रकार रोमन प्रोटासेभिच लुकासेन्कोका कटु आलोचक हुन्। उनले स्थापना गरेको टेलिग्राम च्यानल गत वर्ष लुकासेन्को शासनविरूद्ध भएका प्रदर्शनका क्रममा निकै लोकप्रिय भएको थियो।
केही समयदेखि लिथुआनियामा निर्वासित जीवन बिताइरहेका उनी ग्रिसमा भएको एउटा कार्यक्रममा भाग लिएर फर्कँदै थिए।
एथेन्स विमानस्थलमै उनलाई एक जना मान्छेले पछ्याइरहेका थिए।
जहाज मिन्स्कतिर मोडिएपछि उनी निकै डराएका थिए। आफूलाई बेलारूसमा मृत्युदण्ड दिइने उनले अरू यात्रुलाई बताएका थिए।
'यस्तो लाग्थ्यो जहाजको झ्याल खुल्ने भए उनी त्यहीँबाट हाम फालिदिन्थे,’ जहाजमा सँगै रहेकी यात्रु एडभिनास डिम्साले समाचार संस्था एएफपीसँग भनेकी छन्।
जहाज मिन्स्क विमानस्थलमा अवतरण भएपछि बेलारूसी अधिकारीहरूले प्रोटासेभिचलाई गिरफ्तार गरेका थिए। उनी अहिले कहाँ राखिएका छन् भन्ने केही जानकारी दिइएको छैन।
सात घन्टा मिन्स्कको विमानस्थलमा बिताएपछि अरू यात्रु बोकेर जहाज फेरि गन्तव्यतर्फ उडेको र ३५ मिनेटपछि भिल्निअस पुगेको बताइएको छ।
अर्को देशको जहाजलाई राज्यले नै हाइज्याक गरेको भन्दै अहिले उक्त घटनाको संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनसहित अन्य मुलुकहरू गम्भीर चासो व्यक्त गरेका छन्।
लिथुआनियाको सरकारले यसलाई अन्तर्राष्ट्रिय समुदायमाथि यसअघि कहिल्यै नभएको घटना भनेको छ।
बेलारूसमा के भएको थियो?
बेलारूसमा गत साउनमा राष्ट्रपतिको चुनाव भएको थियो। कोरोनाभाइरसको महामारीबीच भएको चुनावले बेलारूसमा शान्ति र स्थायित्व होइन, प्रदर्शन, दंगा, प्रहरी दमन र अनिश्चितता ल्यायो ।
अधिकारीहरूले मतदानको दिन लाइनमा मान्छे हुँदाहुँदै मतदानस्थल बन्द गरेको केहीबेरमा सुरू भएको आन्दोलन राजधानी मिन्स्क हुँदै देशका मुख्य सहरमा फैलियो।
यो प्रदर्शनको केन्द्रमा थिइन्- ३७ वर्षीया भिट्लाना तिकानोभस्काया।
दुई सन्तानकी आमा तिकानोभस्काया चुनावमा प्रतिपक्षी दलबाट राष्ट्रपतिकी उम्मेदवार थिइन्। उनी प्रतिपक्षी उम्मेदवारमात्र थिइनन्, २६ वर्षदेखि बेलारूसको बागडोर सम्हालेका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरूद्धकी प्रतीक पनि थिइन्।
शिक्षण र अनुवादक पेसामा रहेकी तिकानोभस्काया राजनीतिमा आएको भर्खरै हो। उनका श्रीमान् ४१ वर्षीय सियारेही सिकानोस्की युट्युबर, ब्लगर, उद्ममी र अभियन्ता थिए। पछिल्लो समय उनले लुकासेन्कोविरूद्ध राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गरेका थिए। उनको युट्युब च्यानल ‘कन्ट्री फर लाइफ’ बेलारूसमा लोकप्रिय थियो।
लुकासेन्को प्रशासनले चुनाव हुनु केहीअघि उनलाई हिरासतमा लियो र राष्ट्रपति लड्नबाट प्रतिबन्ध लगायो, त्यसपछि तिकानोभस्काया स्वतन्त्र उम्मेदवार बनेर राष्ट्रपतिमा लडिन्।
विपक्षीलाई दबाउने, स्वतन्त्र मिडियाको अस्तित्व नस्वीकार्ने, आलोचना सहनै नसक्ने राष्ट्रपति लुकासेन्कोप्रति जनस्तरमा तीव्र असन्तुष्टि थियो। उनीहरूले त्यही असन्तुष्टि चुनावमा मतबाट पोखेका थिए।
मतपरिणाम भने लुकासेन्कोले ८० प्रतिशत मत ल्याएर विजयी भएको आयो। तिकानोभस्कायाले जम्मा १० प्रतिशतमात्र मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनायो। उनले आयोगको मतपरिणाम अस्वीकार गरिन्।
चुनावमा कुनै पनि परीवेक्षक सहभागी थिएनन्।
‘धेरै मानिसहरू लुकासेन्कोको विरोधमा छन्,’ ३४ वर्षीय प्रदर्शनकारी पाभेलले समाचार संस्था एएफपीसँग भनेका थिए,‘हाम्रो लक्ष्य लुकासेन्कोलाई जसरी पनि हटाउने हो। उनी हाम्रो राष्ट्रपति भइरहन योग्य छैनन्।’
लुकासेन्कोले भने प्रदर्शनका पछाडि विदेशी शक्ति केन्द्रको हात रहेको आरोप लगाए। विदेशी शक्ति भनेर उनले बेलायत, पोल्याण्ड र चेक रिपब्लिकलाई संकेत गरेका हुन्। प्रदर्शनलाई गैरकानुनी भन्दै उनले तिनलाई निमिट्यान्न पार्ने चेतावनी दिए।
यसअघि लुकासेन्कोले प्रतिपक्षीसँग लाग्नेलाई आतंकवादी घोषणा गर्ने र नाक भाँचिदिने बताएका थिए।
रूसका राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले भने लुकासेन्कोलाई बधाई दिएका थिए।
सोभियत युनियनका बेला बेलारूस उसै अन्तर्गत थियो।
दोस्रो विश्वयुद्ध ताका बेलारूसले आफ्नो जनसंख्याको २४ प्रतिशत मानिस गुमाएको थियो। त्यतिबेला बेलारूसमा एक करोड ६० लाख आमनागरिक र ६ लाख सोभियत सैनिक मारिएका थिए। राजधानी मिन्स्कको ८५ प्रतिशत संरचना बमले ध्वस्त भएको थियो।
लुकासेन्को युरोपमै सबैभन्दा लामो समय शासन गर्ने शासक हुन्। उनी सन् १९९४ मा सत्तामा आएका थिए।
सन् २००५ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस प्रशासनले उनलाई ‘युरोपका अन्तिम तानाशाह’को संज्ञा दिएको थियो।
चुनावपछिको प्रदर्शनमा प्रहरी दमन बढ्दै गएपछि तिकानोभस्काया भागेर छिमेकी लिथुआनिया पुगेकी छन्। लिथुआनियाका विदेशमन्त्रीले तिकानोभस्काया सुरक्षित रहेको बताएका छन्। तर उनी कुन ठाउँमा छन् भन्ने खुलाइएको छैन।