संघीय सरकारले शनिबार अध्यादेशमार्फत् आर्थिक वर्ष ०७८/७९ को बजेट ल्याएको छ।
१६ खर्ब ४७ अर्ब ५७ करोड बजेटभित्र कर्णाली प्रदेशका पनि साना तथा ठूलो योजना समावेश गरिएको छ।
जुन यसप्रकार छन् :
श्रम तथा रोजगारतर्फ डोल्पामा व्यवसायिक पशुपालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, सल्यानमा अदुवा, जुम्लामा स्याउ जोन विकास गर्ने, जुम्लामा स्याउका बेर्ना किन्न कृषकहरूलाई ५० प्रतिशत छुट दिने, सल्यानको कपुरकोटमा कृषि थोक बजार स्थापना गर्ने, जाजरकोटमा ‘मिसन ओखर’ कार्यक्रम सञ्चालन गर्ने, सुर्खेतमा आधुनिक बधशाला स्थापना गर्ने योजना संघको बजेटमा परेको छ।
सिँचाइतर्फ भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सुरूङमा पानी हाल्ने, विद्युत गृह निर्माणको कार्य यसै वर्षबाट थाल्ने योजना समावेश भएको छ।
जलाधार संरक्षणतर्फ कर्णाली नदीबाट हुने कटान नियन्त्रणका लागि कार्यक्रम अगाडि बढाउने, डोल्पाको सदरमुकाम दुनैलाई नदी कटानबाट रोक्ने योजना केन्द्रको बजेटमा समावेश गरिएको छ।
यस्तै रारा, शे-फेक्सुण्डोको विकास तथा संरक्षण, तल्लो डोल्पा, हुम्लाको सिमकोटमा पदयात्रा विकास गर्ने, रुकुमको स्यार्पु ताल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने, मुगुको छायानाथ, जुम्लाको चन्दननाथ र सुर्खेतको काँक्रेबिहारलाई संरक्षण तथा थप विकासका लागि गुरूयोजना बनाउने योजना संघीय बजेटको पर्यटन प्रवर्द्धन कार्यक्रमभित्र परेका छन्।
लगानी प्रवर्द्धन योजनामा कर्णालीका हिमाली जिल्लामा ऊन प्रशोधन केन्द्र निर्माण गर्ने, सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने, जाजरकोटमा बहुमूल्य पत्थर उत्खननका लागि प्रक्रिया सुरू गर्ने, सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन प्रयोगशाला निर्माण गर्ने योजना समावेश भएका छन्।
हुम्लामा सुख्खा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने, साविकको कर्णालीमा खाद्यान्न ढुवानी गर्दा दिइने छुटलाई निरन्तरता दिने योजना पनि संघको बजेटमा समावेश भएका छन्।
शिक्षा तथा खेलकुदतर्फ सुर्खेतमा मेडिकल कलेज स्थापना गर्नका लागि जग्गा प्राप्तीको प्रक्रिया थाल्ने, सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाउने, जुम्लामा हाईअल्टिच्युड रंगशाला स्थापना गर्ने योजना समावेश भएका छन्।
खानेपानीतर्फ सल्यानको सारदा, कालिकोटको चुलीमालिका र मुगुको सरुकोटमा लिफ्ट प्रविधिमार्फत यही आर्थिक बर्षमा खानेपानी आयोजना निर्माण गर्ने योजना संघको बजेटमा समावेश छ।
सडक तथा विद्युततर्फ कोहलपुर–सुर्खेत सडकखण्ड र कर्णाली राजमार्गलाई दुई लेनमा विस्तार गर्ने, नाग्म–मुगु सडक स्तरोन्नतिको कामलाई तिव्रता दिने, दुनै–तीन्जे–धो सडक आयोजनाको ट्र्याक खन्ने, जाजरकोट–डोल्पा सडक खण्ड स्तरोन्नतिको कामलाई तिव्रता दिने योजना समावेश गरिएको छ।
सुर्खेत र बाँकेको सिमाना बबईदेखि सुर्खेतको छिन्चुसम्म र सुर्खेतको वीरेन्द्रनगरस्थित कपासेदेखि दैलेखको सियाकोटसम्म सुरुङ निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने, कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल बनाउन सम्भावना अध्ययन गर्ने योजना पनि संघको बजेटमा समावेश छ।
जलविद्युततर्फ फुकोट कर्णाली, नलगाड, वेतान कर्णाली जस्ता ठूला विद्युत आयोजनाको काम अगाडि बढाउने, आवासतर्फ जुम्लाका विपन्न परिवारलाई आवास निर्माण गर्ने, हुम्लामा एकीकृत वस्ती विकास गर्ने, सुर्खेतका विपद्बाट विस्थापितहरुलाई पुनःस्थापना गर्ने, जुम्लामा सहरी पूर्वाधार विकास गर्ने योजना केन्द्र सरकारको बजेटमा समावेश गरिएको छ ।
यसैगरी हवाई पूर्वाधारतर्फ डोल्पाको मसिनचौर विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने योजना समावेश गरिएको छ ।