राष्ट्रिय सभाको उप-निर्वाचनपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमत परेका छन्। सोमबारको उपनिर्वाचन परिणामसँगै मुख्यमन्त्री पोखरेल संसदीय अंक गणितमा अल्पमतमा रहेको पुष्टि भएको छ।
निर्वाचनमा नेपाली कांग्रेससहित विपक्षी गठबन्धनबाट उम्मेद्वार बनेका दीर्घनारायण पाण्डेयले ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई प्रदेशसभातर्फ जम्मा ४० मत मात्रै प्राप्त गरे।
नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी राष्ट्रिय सभाको निर्वाचनसँगै मुख्य मन्त्री पोखरेल अल्पमतमा रहेको दाबी गरेका छन्। ‘उहाँले जति नै जालझेल गरे पनि मुख्यमन्त्री केही दिनको पाहुना मात्रै हो भन्ने पुष्टि भइसकेको छ,’ चौधरीले सेतोपाटीसँग भने, ‘जेठ १९ गतेको हाउसमा हामी कडा रूपमा प्रस्तुत हुनेछौं।’
उप-निर्वाचनले मुख्यमन्त्रीको संसदीय हैसियत देखाइदिएको हुँदा उनलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको चौधरीले दाबी गरे । ‘उहाँले आफ्नै गाउँका सांसदलाई त जोगाउन सक्नुभएन भने जति जालझेल गरे पनि अब उहाँ आफ्नो मुख्यमन्त्रीको पद जोगाउन सक्ने अवस्थामा हुनुहुन्न।’
उनले पाण्डेयको जितसँगै प्रतिगमन परास्त भएको र लोकतन्त्रको जित भएको बताए।
यसैबीच मुख्यमन्त्री निकटका एक प्रदेश सभा सदस्यले जो कोही रोइ कराई गर्दैमा मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा नदिने तर्क गरे। ‘सडकमा रोई कराई गरेर हुन्छ,’ ती सांसदले सेतोपाटीसँग भने, ‘यस्ता निर्वाचन परिणामबाट आफूहरू कत्ति पनि बिचलित भएका छैनौं।’
जनताले पाँच वर्षको लागि सरकार चलाउन आफूहरूलाई म्यान्डेट दिए भन्दै उनले त्यसभन्दा पहिले जतिनै षडयन्त्र बुने पनि कसैको उद्धेश्य पुरा नहुने बताए।
‘निर्वाचनबाट जितेर आउनुपर्यो नि,’ उनले भने, ‘निर्वाचनमा पराजित हुने अनि बीचमा ठाउँ छोड भन्ने तर्क गर्नेहरू मुर्ख हुन्।’ उनले संघीयता र गणतन्त्र बिरूद्ध षडयन्त्र भइरहेको भन्दै आफूहरूले त्यसो हुन नदिने दाबी गरे।
नेताबीच आपसमा मजाग
मतदानका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आएका मुख्यमन्त्री पोखरेलले बिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीसँग ठट्टा मजाग गरे।
‘अहो! सदनमा भेट नभए पनि यहाँ त भेट हुनेरै’छ’ भनेर मुख्यमन्त्री पोखरेलले मलाई भन्नुभयो,’ केसीले भने, ‘मैले पनि उहाँलाई सदनमा तपाँईको मात्रै राज चल्छ तर, यहाँ हाम्रो पनि अधिकार छ भनेर देखाउन आएका हौं भनेर जवाफ दिएँ।’
पोखरेलकै मन्त्रिमन्डलमा रहँदा कानुन मन्त्रीरहेका केसीलाई विपक्षी गठबन्धनले यतिखेर मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै बहुमत सहितको हस्ताक्षर बुझाएका छन्। त्यसपछि उनीहरू एकाआपसमा प्रतिपर्धीको देखिएपछि बोलचाल र फोन सम्पर्कसमेत नभएको केसीले बताए।
‘उहाँहरू अल्पमतमा हुँदाहुँदै बहुमतमाथि जवरजस्त शासन गर्ने तानाशाही सोचमा हुनुहुन्छ। हामी अग्रगामी तथा लोकतान्त्रिक सोचमा छौं,’ केसीले सेतोपाटीसँग भने, ‘त्यही भएर उहाँहरु र हाम्रो बीचमा कुरा मिलिरहेको छैन।’
दाङबाटै नेकपा माओवादी केन्द्रबाट निर्वाचित ईन्द्रजित थारूलाई पनि मुख्यमन्त्री पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भेटेपछि ‘के हो? कमरेड आजकल त तपाँईले मेरो फोन पनि उठाउनु हुन्न’ भन्ने गुनासो गरे।
‘मैले कहिले कता हुन्छु र कहिले फोन बच्चाले लगेका हुन्छन्, पढिरहेका हुन्छन् भन्दै मुख्य मन्त्रीको कुरा टारिदिएँ,’ चौधरीले मुख्यमन्त्रीसँग भएको संवाद सेतोपाटीसँग सेयर गरे, ‘उहाँ पुरै प्रतिगमनको मतियार भएको हुँदा धेरै कुरा गर्न चाहिनँ।’
मुख्यमन्त्रीले नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित दीर्घनारायण पाण्डेयसँग पनि हाँसी मजाग गरेका थिए। नेपाली कांग्रेसले गत निर्वाचनमा टिकट नदिएपछि एमालेमा प्रवेश गरेका र एमालेबाट निर्वाचित भए पनि फेरि नेपाली कांग्रेसमा प्रवेश गरेका पाण्डेलाई मुख्यमन्त्रीले ठट्टा गर्दै भनेका थिए, ‘तपाँईले झुक्किएर फेरि पनि सूर्यमा त मतदान गर्नु भएन?’
त्यतिबेला आफूले मुख्यमन्त्रीको कुरामा आवेग र उत्तेजनामा एमाले प्रवेश गरे पनि हुर्कि बढेको रूखको छहारी भुल्न नसकिदो रहेछ भनेर जबाफ फर्काएको राष्ट्रिय सभा सदस्य पाण्डेले भने।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य शंकर गिरी र डिल्लीबहादुर चौधरीसँग पनि मुख्यमन्त्रीले त्यस्तै हाँसी मजाग गरेको दृष्य देखिए।
यथार्थमा यतिखेर उनीहरू एक अर्कालाई कसरी गलाउने र गलहत्याउने भन्ने ध्याउन्नमा केन्द्रित छन्। तर पनि उनीहरू सार्वजनिक रुपमा भने निकै सौहार्द रूपमा र हाँसी मजागका साथ प्रस्तुत भएका थिए।
त्यस्तै मतदान हुनुभन्दा १६ घन्टा पहिले मात्रै मताधिकार पाएका जनता समाजवादी पार्टी महतो पक्षका ४ मन्त्री तथा सांसदलाई देखेपछि बिपक्षी दलका सांसदले त्यस्तै हाँसी मजाग गरे।
मन्त्री तथा सांसद कल्पना पाण्डेलाई देखेपछि निर्वाचनस्थलको बाहिर सडक पेटीमा उभिएका बिपक्षी गठबन्धनका महिला सांसदले भने, ‘लौ तपाँईलाई धेरै धेरै बधाई छ, मन्त्री पनि पड्काउनु भयो र अन्तिम समयमा मताधिकार पनि पाउनुभयो, तपाँईहरु त कति कति भाग्यमानी है,’ महिला सांसदहरूले यसो भन्दा, पाण्डेले फिस्स हाँस्दै ‘धन्यवाद!’ भनिन्।
पिसीआर रिपोर्ट ब्यालेट बक्समा, मतपत्र गोजीमा ...
सोमबारको राष्ट्रियसभाको उप-निर्वाचनमा एक सांसदले मतपत्रको ठाउँमा आफ्नो पिसीआर रिपोर्ट ब्यालेट बक्समा खसाले।
निर्वाचन अधिकृत ऋतेन्द्र थापाका अनुसार एक स्थानीय तहकी उपाध्यक्षले मतपेटिकामा आफ्नो पिसिआर रिपोर्ट जाँच गरेको कागज खसाएको फेला परेको जानकारी दिए ।
मत गणनास्थलमै रहेका नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले त्यस्तो हर्कत गर्ने उपाध्यक्ष महिला रहेको भए पनि उनको परिचय खोल्न चाहेनन्।
‘म उहाँको नाम भनेर उहाँको बदनाम गर्न चाहान्नँ,’ डाँगीले सेतोपाटीसँग भने, ‘यत्ति बुझ्नुहोस्, उहाँलाई सत्तासिन दलका मान्छेले मतपत्र हामीलाई दिनुपर्छ भनेर किनेका हुनसक्छन्।’
आइतबार राति परिणाम आफ्नो पक्षमा पार्न स्थानीय तहका जनप्रतिनिधिलाई सत्तारूढ दलका सांसदले खरिद गरेको हुनसक्ने डाँगीले बताए।