भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा आन्दोलनरत् स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न चेतावनी दिएका छन्।
भेरी अस्पतालतमा कार्यरत् स्वास्थ्यकर्मीले डाक्टर र नर्सहरूमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेपछि अध्यक्ष धितालले त्यसलाई ‘नाटक’ को संज्ञा दिँदै अस्पतालमा राजनीति नगर्न चेतावनी दिएका हुन्।
‘भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ,’ अध्यक्ष धितालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति बन्द गर।’
नाताले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका ज्वाइँसमेत रहेका धितालले नेपाल सरकार स्वास्थ्यकर्मीमाथि संवेदनशील ढंगले अगाडि बढेको समेत उल्लेख गरेका छन्। धिताल आफू पनि नेकपा एमालेका समर्थक नै हुन्।
उनले कांग्रेस र माओवादीनिकटले स्वास्थ्यकर्मीलाई उक्साएको आरोप लगाएका छन्।
‘स्वास्थ्यकर्मीको सुरक्षादेखि लिएर सबै कुरालाई स्वास्थ्य मन्त्रालयले सरकारलाई फवार्ड गरिसकेको छ,’ धितालले सेतोपाटीसँग भने, ‘अहिले त स्वास्थ्यकर्मीले काम गर्ने होला नि, आन्दोलन गर्ने त हैन नि, अनि दिनहुँ आन्दोलन गरिरहेपछि त्यसलाई नाटक नभनेर के भन्ने त?’
अहिले जनताको सेवा गर्न छोडेर आन्दोलन गर्नुलाई जायज मान्न नसकिने अध्यक्ष धितालले तर्क गरे। आन्दोलन नगर भन्दा पनि नमानेपछि आफूले स्ट्याटस लेखेको उनले बताए।
‘मेरो नाताका कारण मुख्यमन्त्रीसँग जोडेर राजनीति गर्न खोजिएको छ,’ अध्यक्ष धितालले भने, ‘हामीले त आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुनुपर्छ भनेर दिनरात सिडिओ र एसपीलाई भन्दै आएका छौं।’
आफूहरूले नै मुद्दा लेख भनेर वकिललाई भनेको र मुद्दा बलियो बनाउन प्रतिवेदन बनाउन लगाइएको उनले बताए।
उनले नेपाली कांग्रेस, माओवादीले स्वास्थ्यकर्मीलाई उक्साएको आरोप लगाउँदै त्यो तत्काल रोकिनुपर्ने बताए।
भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले भने विकास समितिका अध्यक्षजस्तो अभिभावकीय भूमिकामा रहेको मानिसले त्यस्तो कुरा गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन्।
अध्यक्ष सुरूदेखिनै आस्थाको आधारमा दोषीलाई जोगाउन सक्रिय ढंगले लागेको आरोप उनीहरूले लगाएका छन्।
‘घटनाको बारेमा जाहेरी दिनसमेत उहाँको इच्छा थिएन, उहाँले धेरैसमय हामीलाई टार्नुभयो, फोन नै उठाउनु भएन,’ एक जना स्वास्थ्यकर्मीले सेतोपाटीसँग भनिन्, ‘म जिल्ला अध्यक्षज्यूसँग पार्टीको मिटिङमा छु भन्दै पंछिनुभयो, अन्तिममा एउटाको फोन उठेपछि हामीले स्टाफसहित गाडी लिएर कोहलपुर लिन पठाएका थियौं।’
अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले ड्युटीको क्रममा न्यायका लागि शान्तिपूर्ण रुपमा बेलुका ६ देखि ७ बजेसम्म स्वेच्छिक रुपमा प्रदर्शन गर्दै र त्यो दबाबका लागि भएको उनले बताइन्।
‘त्यति ठूलो घटना भयो, हाम्रा साथीहरूलाई घाँटी अठ्याएर मार्न खोजियो, ज्यान जोगाउन झ्यालबाट हाम फाल्नुपर्यो,’ उनले भनिन्, ‘घटनाको मुख्यमन्त्री, राष्ट्रपति, दलका नेताहरूले विरोध गर्नुभयो, तर यहाँ दोषीलाई जोगाउन राजनीति भइरहेको हामीलाई आशंका छ।’
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको जेठ १३ गते बेलुका भेरी अस्पतालमा मृत्यु भएपछि नेकपा एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावत, लोकराज रावत र भरत रावतले डाक्टर तथा नर्सिङ स्टापहरुमाथि कुटपिट गरेका थिए।
घटनापछि सोही दिन प्रहरीले आक्रमणमा संलग्नहरूलाई पक्राउ गरेको थियो।