अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई भेट्ने भएका छन्।
अर्को हप्ता जाे र प्रथम महिला जिल बाइडेनले एलिजाबेथलाई भेट्न लागेको बकिङ्हम प्यालेसले जानकारी दिएको छ।
विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका राष्ट्रका नेताहरूबीच हुने जी-सेभेन समिटका लागि बाइडेन बेलायत जान लागेका हुन्। समिट सकेपछि बाइडेन महारानी एलिजाबेथलाई भेट्न जुन १३ आइतबार विन्डसर महलमा जानेछन्।
'संयूक्त राज्य अमेरिकाका राष्ट्रपति र प्रथम महिला जिल बाइडेनसँग जुन १३ तारिख आइतबारका दिन विन्डसर महलमा महारानीसँग भेट हुनेछ,' बकिङ्हम प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाइडेनले महारानी एलिजाबेथलाई भेट्ने १२ औं अमेरिकी राष्ट्रपति हुनेछन्। यसअघि एलिजाबेथले सन् २०१९मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व प्रथम महिला मेलानिया ट्रम्पलाई बकिङ्हम प्यालेसमा भेटेकी हुन्।
महारानी भइसकेपछि ९५ वर्षीया एलिजाबेथले पहिलो पटक सन् १९५१मा अमेरिकी राष्ट्रपतिसँग भेटेकी थिइन्। त्यसयता उनले सबै अमेरिकी राष्ट्रपतिलाई भेटेकी छन्।
कोर्नवालमा हुने जी ७ सम्मेलन बाइडेनका लागि राष्ट्रपति भएपछिकै पहिलो विदेश भ्रमण हुनेछ। कोरोना भाइरसको महामारीका कारण उनी विदेश भ्रमणमा जान पाएका थिएनन्।