नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको दिनचर्या हिजोआज बदलिएको छ।
सरकारसँग सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूह कोरोना महामारीबीच नै विभिन्न सामाजिक काममा सक्रिय छन्।
गत शनिबार उनीहरूले कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा कोरोना संक्रमित बिरामीका कुरूवाका लागि प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेका थिए।
विभिन्न व्यक्तिहरूसँग सहयोग जुटाएर विप्लवका कार्यकर्ताले आफैँ श्रमदान गरी प्रतिक्षालय निर्माण गरेका हुन्। उनीहरूले एक साता काम गरेर प्रतिक्षालय निर्माण गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन्।
उनीहरूले निर्माण सामग्री भने सहयोगबाटै जुटाउने गरेका छन्। सामग्री जुटेपछि निर्माणको काम भने आफूहरूले गर्ने गरेको नेपाल कम्युनिष्ट पार्टी दाङ सेक्रेटरी प्रदीप वलीले बताए।
उक्त प्रतिक्षालय एक लाख ३० हजार निर्माण गरिएको उनको भनाइ छ।
‘हामी उत्पादन र विकासमा जोड दिइरहेका छौं। पार्टीको नीति अनुरूप सामाजिक कार्य पनि गर्दै जान्छौं,’ उनले भने।
अति विपन्न र अशक्त परिवारलाई प्रतिबन्धको समयदेखि नै सहयोग गर्दै आएको र अब पनि त्यो अभियान जारी रहने उनले बताए।
यस्तै सोमबार नेकपाको सहायक संगठन, युवा संगठन नेपाल जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का दलबहादुर शाहुको घर निर्माण गर्न आवश्यक सामग्री सहयोग गरेका छन्।
उनीहरूले इँटा, बालुवा, सिमेन्ट सहयोग गरेका हुन्। साथै खाद्यान्न सहयोग गरिएको छ। चामल, नुन, तेलसहित करिब २२ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला ईन्चार्ज मनोज परियारले बताए।
शाहुका परिवारमा ६ वर्षीया बालिका पनि छन्। शाहुको घर केही पहिले परेको वर्षाले भत्काएको थियो।
पार्टीका तुलसीपुर नगर ईन्चार्ज अमर खड्काले जनतासँगै खेतबारीमा काम गर्दै आफूहरू उत्पादनसँग जोडिँदै आएको बताए।
‘फुर्सदको समयमा श्रमसँग जोडिनु पर्छ भन्ने हाम्रो पार्टीको नीति हो,’ खड्काले भने ‘महासचिव बिप्लवका हातमा आज गएर हेर्नुभयो भने काम गरेका ठेला छ।’