ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेज एउटा अभिव्यक्तिका कारण अहिले विवादमा परेका छन्। उनले मेक्सिको र ब्राजिलका मानिसहरूबारे दिएको अभिव्यक्तिले विवाद निम्त्याएको हो।
अर्जेन्टिना, ब्राजिल र मेक्सिको दक्षिण अमेरिकाका दुई ठूला मुलुक हुन्। फुटबलका कारणले अर्जेन्टिना र ब्राजिल संसारभरि चिनिएका छन्। संसारका हरेक कुनामा ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थक भेटिन्छन्। आगामी विश्वकपका लागि महादेशीय छनौट खेल भइरहेका बेला स्वभाविक रूपमा अर्जेन्टिना र ब्राजिलका समर्थक विभाजित छन्।
यही बेला राष्ट्रपति फर्नान्डेजले ब्राजिलियनलाई 'हेपेर' अभिव्यक्ति दिएका छन्। अर्जेन्टिना भ्रममा आएका स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा बुधबार राष्ट्रपति फर्नान्डेजले भने- मेक्सिकनहरू आदिवासी हुन्। ब्राजिलियनहरू जंगलबाट आएका हुन्। तर हामी अर्जेन्टिनीहरू पानीजहाजबाट आएका हौं।
फर्नान्डेजले अर्जेन्टिनीहरूको युरोपसँगको सम्बन्धलाई जोड दिन यस्तो भनेका थिए तर उनको अभिव्यक्ति विवादमा परेको हो। अर्जेन्टिना र ब्राजिलका सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको चर्को आलोचना गरेका छन्। कतिले मजाक पनि उडाएका छन्।
ब्राजिलका राष्ट्रपतिले पनि सामाजिक सञ्जाल ट्वीटरमा आदिवासीहरूसँग उभिएको आफ्नो फोटो राख्दै सेल्भा लेखेर ब्राजिलको झन्डा राखेका छन्। सेल्भाको अर्थ जंगल हो।
राष्ट्रपति फर्नान्डेजले कसैलाई होच्याउने आफ्नो मनसाय नभएको भन्दै आफ्नो अभिव्यक्तिले पर्न गएको चोटप्रति क्षमा मागेका छन्।