प्रदेश नम्बर २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ।
प्रदेश सरकारले बिहीबार सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि विशेष सहयोगको घोषण गर्दै स्थानीय तह, सङ्घीय सरकारसँग समन्वय गर्ने जनाइएको छ।
सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘बेटी पढाउ, बेटी बचाउ’, ‘जहाँ सडक, त्यही विकास’ लगायतका अभियान र प्रदेश सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ।
सरकारले ‘एक जिल्ला एक पर्यटन केन्द्र’ बनाएर प्रदेश पर्यटन विकास गर्ने नीति लिएको छ। मुख्यमन्त्री स्वच्छता अभियानलाई व्यापकता दिँदै मुख्यमन्त्री स्वच्छता अभियान प्राधिकरण गठन गर्ने नीति कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेको छ।
कोरोना जोखिम न्युनिकरण गर्न जनकपुरस्थित मणिपाल अस्पतालको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने र कोभिड आपतकालीन सेन्टर स्थापना गर्ने कार्यक्रममा उल्लेख छ।
त्यसैगरी वायोमेडिकल इन्जिनियरिङ कलेजको स्थापना गरी अस्पतालको उपकरणहरुको अवस्थामा सुधार गर्ने र प्रादेशिक शिक्षा गुरुयोजना कार्यान्वयन गर्ने, प्रत्येक जिल्लामा एक–एक पुस्तकालय स्थापना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिँदै प्रदेशको प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक प्राविधिक शिक्षालय स्थापना गरी जनकपुरलाई शिक्षा हब बनाउने नीति प्रदेश सरकारले लिएको छ।
(रासस)