बेलायतले एक वर्षभित्र संसारका गरिब मुलुकहरूलाई कोरोनाभाइरसविरूद्धको खोपको १० करोड डोज अनुदान दिने भएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत फेब्रुअरीमा आफ्नो देशमा बढी भएको कोरोना खोप गरिब मुलुकलाई दिने बताएका थिए। बिहीबार गरिएको घोषणामा खोप कसरी दिने भन्नेबारे केही विस्तृत खुलाइएको छ।
बेलायतले केही साताभित्रै खोप दिन सुरू गर्नेछ। आउने सेप्टेम्बरसम्म ५० लाख डोज खोप विभिन्न मुलुकलाई दिइनेछ। बाँकी ९ करोड ५० लाख डोज १२ महिनाभित्र वितरण गरिनेछ। सन् २०२१ को अन्त्यसम्ममा २ करोड ५० लाख डोज अनुदान दिने लक्ष्य छ।
बेलायतले दिन लागेको खोपमध्ये ८० प्रतिशत कोभ्याक्समार्फत् दिइनेछ भने बाँकी २० प्रतिशत खोप बेलायतले छानेका देशमा सोझै पठाइने छ।
केही साताभित्र ५० लाख डोज गरिब मुलुकलाई दिँदा आफ्नो देशको खोप कार्यक्रमलाई असर नपर्ने बेलायतको विश्वास छ।
यसैबीच बेलायती प्रधानमन्त्री जोनसनले आजदेखि सुरू हुने जी ७ मुलुकको शिखर सम्मेलनका क्रममा यी मुलुकले एक वर्षमा संसारभरि १ अर्ब डोज कोरोना खोप दिने निर्णय गर्ने अपेक्षा गरेका छन्।
बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि प्रधानमन्त्री जोनसनले तीन दिने सम्मेलनका क्रममा १ अर्ब डोज खोप दिने सहमति हुने अपेक्षा व्यक्त गरेका हुन्। जी ७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र बेलायत छन्।
राष्ट्रपति बाइडेन बेलायत प्रस्थान हुनुअघि अमेरिकाले आउने वर्षसम्म संसारका अरू मुलुकलाई बाँड्न फाइजर कम्पनीसँग ५० करोड डोज किन्ने घोषणा गरेको थियो।