अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिका रूपमा पहिलो पटक विदेश भ्रमणमा निस्किएका छन्। बिहीबार उनी घनिष्ठ सम्बन्ध भएको बेलायत पुगेका छन्। जी ७ मुलुकको शिखर सम्मेलनमा सहभागी हुन बेलायत पुगेका बाइडेनले बिहीबार नै बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटघाट गरेका छन्।
उनीहरूको भेटघाटको एउटा तस्बिर अमेरिकी राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ। अहिले उक्त तस्बिरको सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक उडाइरहेका छन्।
'अमेरिका र बेलायतको विशेष सम्बन्ध कुनै पनि बेलाको भन्दा बलियो छ। आज मलाई स्वागत गर्नुभएकोमा धन्यवाद प्रधानमन्त्री जोनसन’ लेख्दै अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डलबाट तस्बिर पोष्ट भएको छ।
उक्त तस्बिरमा प्रधानमन्त्री जोनसन दुबै हात पाइन्टको खल्तीमा हालेर उभिएका छन् भने बाइडेनले धाप मारेको देखिन्छ। बाइडेनले केही भनिरहेको र जोनसनले ध्यान दिएर उनको कुरा सुनिरहेजस्तो लाग्छ।
यो तस्बिरलाई कतिपयले बाबुले छोरालाई सम्झाइरहेको भनेर लेखेका छन् भने केहीले बाइडेनले जोनसनलाई कपडा खोलेर समुद्रमा जान भनेको उल्लेख गरेका छन्।
बेलायती प्रधानमन्त्री जोनसनलाई धेरैले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका साथी ठान्छन्। उनीहरूको राजनीतिक मुद्दामात्रै होइन लवाइखवाइ पनि मिल्छ।
बेलायतमा चुनाव हुनु अघिनै जोनसनलाई प्रधानमन्त्रीका रूपमा ट्रम्पले समर्थन गरेका थिए। बेलायत भ्रमणमा आएका बेला ट्रम्पले जोनसनलाई आफ्नो ‘मित्र’ मात्र भनेनन् प्रधानमन्त्रीका रूपमा उनले गजब काम गर्ने पनि बताएका थिए।
बेलायत युरोपियन युनियनबाट जसरी पनि अलग हुनुपर्छ भन्ने जोनसनको विचारको ट्रम्पले समर्थन थियो। युरोपबाट अलग भए बेलायत र अमेरिकाबीच आर्थिक सम्बन्ध झनै कसिलो बनाउन सकिने ट्रम्पको तर्क थियो।
ट्रम्पसँगको त्यही मित्रतालाई सम्झदै बाइडेन जोनसनलाई समद्रमा हाम फाल्न भनेको भनेर पनि कतिपयले मजाक उडाएका छन्।