नेपाली कांग्रेसका नेताहरूले क्रियाशील सदस्यता वितरण तथा नवीकरण र उत्पन्न बिबाद समाधान गरेर छिट्टै महाधिवेशन हुने बताएका छन्।
नेपाल तरूण दल अर्घाखाँची काठमाडौंले शनिबार गरेको भर्चुअल कार्यक्रममा बोलेका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनमा लाग्नुपर्ने बताएका छन्।
‘क्रियाशील टुंग्याएर अब महाधिवेशनमा पार्टी लाग्नुपर्छ,’ उनले भने। कांग्रेसले लामो समयसम्म क्रियाशील वितरण नगरेकोले धेरै संख्यामा क्रियाशील लिने आवेदन पर्नु स्वभाविक भएको उनको भनाइ थियो।
‘काँग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,’ उनले भने।
अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए कांग्रेसभित्र अहिलेको समस्या नआउने बताए।
‘पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,’ उनले भने।
साथै केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि कांग्रेस जुट्नुपर्ने बेला आएको बताएकी छन्।
‘लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसले अरु दलसँग सहकार्य गर्न लागेको हो,’ उनले भनिन्। अब महाधिवेशनको काममा लाग्नुपर्ने पनि उनको धारणा थियो।
अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले अहिले कांग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए।
कांग्रेसले महाधिवेशन भदौमा गर्ने बताएको छ। भदौ ७ देखि १० सम्म गर्ने भनिएको महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव कांग्रेस पदाधिकारी बैठकले गरेको छ।
(राससको सहयोगमा)