कोरोनाभाइरस नियन्त्रण गर्न लागु भएका मापदण्ड पालना नगरेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई जरिवाना तिराइएको छ।
शनिबार राष्ट्रपति बोल्सोनारो साओ पाउलो सहरमा झन्डै १२ हजार जना सहभागी भएको मोटरसाइकल र्यालीमा सहभागी भएका थिए। र्यालीमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन्।
सुरूमा मोटरसाइकल चलाएका बोल्सोनारोपछि ट्रकमा चढेका थिए। उनले भ्याक्सिन लगाइसकेकाले मास्क लगाउनु नपर्ने बताएका थिए। बोल्सोनारोले सुरूदेखि नै कोरोनाभाइरससँग खेलाँची गर्दै आएका छन्। उनले सुरूमा कोरोना सामान्य फ्लु भएको बताएका थिए भने पछि आफूले भ्याक्सिन नलगाउने भनेका थिए।
ब्राजिल अमेरिकापछि संसारमै कोरोनाबाट धेरै मानिसको मृत्यु हुने मुलुक हो। त्यहाँ अहिलेसम्म ४ लाख ५९ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। शनिबारमात्रै ब्राजिलमा ७८ हजार नयाँ संक्रमित थपिएका थिए भने दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए।
राष्ट्रपति बोल्सोनारोले मास्क बिनाको र्याली निकालेपछि उनलाई जरिवाना तिराइएको छ। साओ पाउलो प्रान्तीय सरकारले उनलाई १०८ अमेरिकी डलर बराबरको जरिवाना गरिएको जनाएको छ।
ब्राजिलमा अर्को वर्ष राष्ट्रपतिका लागि चुनाव हुँदैछ। सेनाका पूर्व क्याप्टेन बोल्सोनारो दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्।
भ्रष्टाचारलाई अन्त्य गर्ने लोकप्रिय नारा दिएर बोल्सोनारो २०१८ मा राष्ट्रपति चुनिएका थिए।
पछिल्लो समय उनको लोकप्रियता निकै खस्किएको सर्वेक्षणहरूले देखाएका छन्।