अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता सुरू भएको छ।
स्विट्जरल्यान्डको जेनेभामा दुई राष्ट्रपतिबीच केहीबेरअघि भेट भएको हो।
उनीहरू दुबै जनालाई स्विटजरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले स्वागत गरेका थिए।
'राष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ। यहाँहरू वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ पार्मेलिनले भनेका थिए।
त्यसपछि बाइडेन र पुटिनले हात मिलाएका थिए। पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण संसारभरि नै हात मिलाउने चलन कम भएको छ। त्यसको साटो नेताहरूले अरू तरिकाबाट एक-अर्कालाई अभिभावदन गर्थे।
बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा भने तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई मुलुकका राष्ट्रप्रमुखले हात मिलाएका हुन्।
बाइडेन-पुटिनबीच घन्टौं लामो वार्ता हुने बताइएको छ। पछिल्लो समय रूसभित्र पुटिनले आफ्ना विपक्षीलाई दबाउन अपनाएको रबैया र बाहिर पनि आफ्नो प्रभाव बढाउन उनले लिएका नीतिका कारण अमेरिका-रूसको सम्बन्ध चिसिएको छ। त्यही भएर बाइडेन-पुटिन भेटवार्तालाई संसारभरिबाट चासोका साथ हेरिएको छ।