सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ।
पार्टी कार्यालय भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले रु तीन लाख ५१ हजारसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए।
कांग्रेसले विभिन्न नेताकार्यकर्ताबाट संकलन गरेको नगद तथा चामल दुई हजार ४७५ केजी, तेल दुई सय पोका, चिउरा, दाल, आलु, तेल, नुन, लत्ताकपडा, औषधिलगायत सामग्री बस्नेतलाई हस्तान्तरण गरेको हो।
नेता बस्नेतले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले बिच्छेद गरेकाले हेलिकप्टरमार्फत सहयोग सामग्री बुधबार पीडितलाई वितरण गरिने बताए।
(रासस)