मनाङको ङिस्याङ गाउँपालिकाको नवौं गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट सुरू भएको छ।
गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
उनले बाढीपहिरोको जोखिम र कोभिड-१९ को संक्रमणको चपेटामा परेकाले आगामी वर्ष यसलाई मुख्य प्राथमिकतामा राखिने बताए।
‘बाढीपहिरोले भौतिक पूर्वाधारहरूमा क्षति पुर्याएको छ, यसको समाधानका लागि बढी प्राथमिकता दिनेछौंं’, घलेले भने।
बाढीपहिरोले एक गाउँ वा बस्तीबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था नरहेकाले भर्चुअल माध्यमबाट गाउँसभा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए।
एकै स्थानमा जमघट हुने अवस्था नहुँदा वडा-वडा तथा सहज हुने स्थानबाट नै वडाध्यक्ष तथा वडासदस्यहरू, कार्यपालिका सदस्यहरूबीच भर्चुअल माध्यमबाट नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिने भएको छ।
ढकालका अनुसार आगामी वर्ष परिणाममुखी भन्दा पनि विपद्को व्यवस्थापनलाई जोड दिइनेछ।
नीति तथा कार्यक्रममा विपद्बाट क्षति भएका भौतिक पूर्वाधार र कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई विशेष महत्व दिइनेछ।
अन्य स्थानीय तहमा भने गाउँसभा नहुने भएको छ।
मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकामस्थित चामे गाउँपालिका, नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको गाउँसभा हुने छैन।
मर्स्याङ्दीमा आएको बाढीले सबैभन्दा बढी नासों गाउँपालिकामा क्षति पुगेको छ। बाढीले गाउँपालिकाको भवन बगाएको छ।रासस