भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाञ्चलमा निर्वासनमा बसेका तिब्बतियन धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिएका छन्।
मंगलबार लामाको ८६ औं जन्मदिन थियो। मोदीले उनलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्। उनले यो कुरा सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेपछि चर्चाको विषय बनेको छ।
सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका मोदीले पहिलो पटक लामालाई सार्वजनिक रूपमा जन्मदिनको शुभकामना दिएका हुन्। यसअघि सन् २०१३ मा पनि उनले यसैगरी ट्वीट गरेका थिए। त्यतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए।
त्यसपछि सन् २०१९ मा उनले लामालाई जन्मदिनको शुभकामना दिए पनि सार्वजनिक नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पोहोर साल गल्वान भ्यालीमा दुई देशका सेनाबीच झडप भएपछि भारत-चीन तिक्तता चुलिएको थियो। त्यतिबेला मोदीले लामालाई जन्मदिनको शुभकामना नदिएपछि निकै आलोचना भएको थियो।
यसपालि मोदीले सार्वजनिक रूपमै लामालाई जन्मदिनको शुभकामना दिएर सीमा विवाद यथावत् रहेको चीनलाई सन्देश दिन चाहेको रूपमा धेरैले अर्थ्याएका छन्।
मोदीपछि विभिन्न भारतीय राज्यका मुख्यमन्त्रीहरूले दलाई लामाको प्रशंसा गर्दै शुभकामना दिएका छन्।
बेइजिङले लामालाई खतरनाक विभाजनकारीको संज्ञा दिएको छ। उनी उत्तरी भारतमा ६ दशकदेखि बस्दै आएका छन्।
चिनियाँ सेनाले सन् १९५०मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो। तिब्बत चीनले नियन्त्रणमा लिएपछि सन् १९५९मा लामा भारत पुगेका थिए।
भारतले लामो समयसम्म तिब्बतलाई चिनियाँ भू-भाग मान्न अस्वीकार गरेको थियो। भारतको चीनसँग सीमा विवाद भएको धेरै भू-भाग तिब्बतमा पर्छ।