नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडादेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन्।
पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने उनको भनाइ छ।
उनले यो कुरा लोकतन्त्रका लागि हाम्रो अभियानले बुधबार गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन: नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरिय भर्चुअल कार्यक्रममा भनेका हुन्।
सिंहले आफू काठमाडौँको सभापति हुँदा जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई नेतृत्वमा पुर्याएको स्मरण गरेका थिए।
नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताइन्।
प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरेकी थिइन्।
पार्टीका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताइन्।
‘स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।
(रासस)