अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन्।
बिहीबार राष्ट्रपति बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने पनि जानकारी दिए। यसअघि उनले अमेरिकी सैनिकहरू सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने योजना सुनाएका थिए।
बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताए।
अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक फर्किइसकेका छन्। अघिल्लो साता काबुलको उत्तरमा रहेको बगराम एयरबेस अमेरिकी सैनिकले अफगान समकक्षीलाई जानकारी नै नदिई राति नै छोडिदिएका थिए।
‘म अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाउँदिनँ,’ बाइडेनलले भनेका छन्,‘ हामी अफगानिस्तानमा राष्ट्र निर्माणका लागि गएका थिएनौं। र, अब आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी हो।’
बाइडेनले अफगानिस्तानमा ज्यान गुमाउने र घाइते भएर स्वदेश फर्किने सैनिकहरूको प्रशंसा गरे।
सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो।
२० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन्।
मुस्लिम कट्टरपन्थी समूह तालिवानलाई पराजित नगरिकनै अमेरिकी र नाटो सैनिक फर्किन लागेपछि भूपरिवेष्ठित मुलुक अफगानिस्तानको भविष्य अन्यौलमा परेको छ। कतिपय विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुने चेतावनी दिएका छन्।
अहिले विद्रोही तालिवान समूहले देशका झन्डै एक तिहाइ जिल्ला नियन्त्रणमा लिइसकेको छ। विदेशी फौजले अफगानिस्तान छोडेसँगै तालिवानहरूले आफ्नो भू-भाग बढाइरहेका छन् भने शहरतिर अघि बढिरहेका छन्।
पछिल्लो समय अफगान सुरक्षाकर्मीहरूले तालिवानसामू आत्मसमर्पण गरिरहेका छन् भने केही भागेर छिमेकी ताजकिस्तान पुगेका छन्।