दक्षिण अफ्रिकामा केही दिनयता हिंसा र लुटपाट भइरहेको छ। अदालतको मानहानी मुद्दामा पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिना जेल हाल्ने फैसला भएपछि दक्षिण अफ्रिकामा उनका समर्थकहरूले हिंसा भड्काएका हुन्।
भ्रष्टाचार मुद्दामा अदालतले बोलाउँदा नआएका जुमालाई मानहानीमा १५ महिना जेल सजाय तोकिएपछि उनले गत बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
उनले आत्मसमर्पण गर्नासाथ देशका विभिन्न ठाउँमा उनका समर्थकले प्रदर्शन गरेका थिए। पछिल्लो समय प्रदर्शनकारीले बजारमा लुटपाट र आगजनी गर्ने गरेका छन्।
राष्ट्रपति सिरिल रामाफोसाले सन् १९९० पछि अहिले सबैभन्दा ठूलो हिंसा भड्किएको बताएका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म ७२ जना मानिसको मृत्यु भइसकेको छ।
भिजिलान्ते समूहहरूले लुटपाट र आगजनी गरेपछि धेरै ठाउँमा खाद्यान्नको अभाव भएको छ। आममानिसलाई असुरक्षा बढेको छ।
पछिल्लो समय डर्बान सहरमा एक जना आमाले आफ्नी छोरीको ज्यान बचाउन उनलाई घरबाट सडकको भीडमा फालिदिएको भिडिओ चर्चामा छ।
यो घटना मंगलबार दिउँसोको हो। डर्बानको सिटी सेन्टरमा लुटेराहरूले आगो लगाएका थिए। त्यतिबेला नालेडी मान्योनी १६ तलामा थिइन्। ग्राउन्ड फ्लोरमा सामान लुटेर आगो लगाएपछि धुँवा फैलिएको थियो। लिफ्टले काम गर्न छोडेपछि छोरी बोकेर उनी तल झरिन्। ग्राउन्ड फ्लोरमा निस्कन नसकिने भएपछि उनले सडकमा हिँडिरहेका मानिसहरूसँग सहयोग मागिन्।
केही मानिस उनलाई सहयोग गर्न आए। अर्को महिना दुई वर्ष पुग्न लागेकी छोरीलाई उनले तिनै अपरिचितको भरमा माथिबाट खसालिदिइन्।
उनले छोरीलाई फालेको भिडिओ बिबिसीका फोटोग्राफरले खिचेका थिए।
‘मैले छोरीलाई कसरी बचाउन सक्छुमात्रै सोचें,’ मान्योनीले बिबिसीसँग भनेकी छन्,‘छोरी रोइरहेकी थिई। मैले तल हेरें। त्यतिबेला मैले गर्न सक्ने भनेकै सडकमा भएका ती अपरिचितलाई विश्वास गर्नु थियो।’
केहीबेरपछि आगलागीमा अड्किएका मानिसहरूलाई भर्याङ लगाएर निकालिएको थियो।
सडकका अपरिचितले उनकी छोरीलाई सुरक्षित राखिदिएका थिए।