प्रतिनिधि सभाको बैठकअघि सांसदहरुले कोरोना परीक्षण गराएका छन्। संसद सचिवालयसँगको समन्वयमा स्वास्थ्य सेवा विभागले सांसदहरुको कोरोना परीक्षण गराएका हुन्।
विगतमा सांसदहरुको पिसिआरमार्फत् कोरोना जाँच गरिदैँ आएकोमा यसपटक एन्टिजेन परीक्षण गर्न लागिएको हो। संसद सचिवालयमा कार्यरत डाक्टर पुष्प रिजालले सबै सांसदलाई खोप दिइएकाले एन्टिजेन परीक्षण गरेको बताए।
संसद भवन बानेश्वरमा बिहान १० बजेदेखि सांसदहरुको स्वाब संकलन भइरहेको हो। सांसदहरुलाई बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म संसद भवनमा आउन सचिवालयले खबर गरेको थियो।
परीक्षणमा कोरोना देखिए सांसदहरुलाई होम आइसोलेसनमा पठाइनेछ। कोरोना पोजेटिभ पाइए त्यस्ता व्यक्तिहरुलाई संसद बैठकमा सहभागि नगराउने सचिवालयको तयारी छ। तर यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने दिन कोरोना पोजेटिभ सांसदहरुलाई संसद भवन बाहिरै टेन्टमा राखेर बैठकमा सहभागि गराइएको थियो।