जुम्लाको चन्दननाथ नगरपालिकामा मेयर र उपमेयरको विवादले बजेटले पूर्णता पाउन सकेको छैन।
नगरपालिकाको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन्।
नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ।
नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताइन्। नगर उपप्रमुख न्यौपानेले भने नगरपालिकाको बजेट पारित नभएको जानकारी दिइन्। वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन्।
प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ। नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन्। राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ ।
आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन। नगरबासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन्।रासस