भारतका दुई उत्तरपूर्वी राज्यहरू असम र मिजोरमको सीमाको विषयमा भएको झडपमा परी ६ जना प्रहरीको मृत्यु भएको छ।
असमका मुख्यमन्त्री हेमन्ता विश्व शर्माले सोमबारको झडपमा परी असम प्रहरीका छ जनाले ज्यान गुमाएको बताएका छन्।
असमको छिमेकी राज्यहरू त्रिपुरा र मिजोरमसँग लामो समयदेखि सीमा विवाद छ। असम र मिजोरमको सीमा विवादमा केन्द्रले हस्तक्षेप गरे पनि विवाद सुल्झिएको छैन।
पछिल्लो समय मिजोरमले असमको सीमामा सडक बनाउने र नयाँ प्रहरी क्याम्प राख्ने कार्य गरेको मुख्यमन्त्री विश्व शर्माको आरोप छ।
उक्त कार्य रोक्न जाँदाखेरी असमका अधिकारीहरूमाथि आक्रमण भएको उनको दाबी छ। मिजोरम पक्षबाट भएको आक्रमणमा त्यहाँको प्रहरीको पनि साथ रहेको उनले वक्तव्यमार्फत् जनाएका छन्।
झडपमा परी अरू प्रहरी पनि घाइते भएको उनले बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडिओ पोष्ट गर्दै असम प्रहरीको मृत्युपछि मिजोरममा खुसीयाली मनाइएको दाबी गरेका छन्।
उता मिजोरमका मुख्यमन्त्री जोरामथांगाले पनि असम प्रहरीले हिंसा भड्काएको आरोप लगाएका छन्। विश्व शर्माको ट्वीटलाई रिट्वीट गर्दै उनले केन्द्रीय गृहमन्त्री अमित शाहलाई समेत मेन्सन गरेर उनले मिजोरमको सीमामा बसेका स्थानीयलाई असम प्रहरीले लाठीचार्ज गरेको र अश्रुग्यास हानेको दाबी गरेका छन्।
सीमा क्षेत्रमा भएको झडपबारे दुई मुख्यमन्त्रीले टेलिफोनमा कुरा पनि गरेका छन्।
सन् १९७२ सम्म मिजोरम असमकै भाग थियो। छुट्टिएपछि सन् १९८६ मा उसले राज्यको मान्यता पाएको थियो।
असमले अहिले आफ्नो दाबी गरिरहेको भूमि सय वर्षदेखि आफ्ना नागरिकले भोगचलन गरिरहेको मिजोरमको दाबी छ। असमले भने विशाल भू-भाग बलपूर्वक कब्जा गरिएको बताउँदै आएको छ।
असममा भारतीय जनता पार्टीको सरकार छ भने मिजोरममा मिजो नेशनल फ्रन्ट पार्टी सत्तामा छ।