भारतको उत्तरपूर्वी राज्य मिजोरमले सीमा विवादका कारण छिमेकी राज्य असमले आर्थिक नाकाबन्दी गरेको भन्दै केन्द्र सरकारलाई गुहारेको छ।
स्क्रोलका अनुसार बुधबार केन्द्र सरकारलाई चिठी लेख्दै मिजोरमका गृह सचिवले आफ्नो प्रदेशको राजधानी ऐजावल आउने राष्ट्रिय राजमार्ग, रेलमार्ग र अन्य सडकमा असमले अवरोध गरेको बताएका छन्। असमको नाकाबन्दीका कारण मिजोरमको जनजीवन नराम्ररी प्रभावित भएको चिठीमा उल्लेख छ।
तीन दिनअघि असम र मिजोरमको सीमा क्षेत्रमा झडप हुँदा असम प्रहरीका ६ जनाले ज्यान गुमाएका थिए। उक्त घटनापछि असमले नाकाबन्दी गरेको मिजोरमको आरोप छ।
राजमार्गहरू केन्द्र सरकारको मातहतमा हुने भएकाले प्रदेश सरकार र कुनै ठाउँका स्थानीयले अवरोध गर्न नहुने मिजोरम सरकारको तर्क छ।
यसअघि पनि सीमा विवाद हुँदा गत वर्ष पनि अक्टोबर-नोभेम्बरमा असमले नाकाबन्दी गरेको चिठीमा उल्लेख छ।
सन् १९७२ सम्म मिजोरम असमकै भाग थियो। छुट्टिएपछि सन् १९८६ मा उसले राज्यको मान्यता पाएको थियो।
असमले अहिले आफ्नो दाबी गरिरहेको भूमि सय वर्षदेखि आफ्ना नागरिकले भोगचलन गरिरहेको मिजोरमको दाबी छ। असमले भने विशाल भू-भाग बलपूर्वक कब्जा गरिएको बताउँदै आएको छ।
असममा भारतीय जनता पार्टीको सरकार छ भने मिजोरममा मिजो नेशनल फ्रन्ट पार्टी सत्तामा छ।