लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली फेरि नेकपा एमालेमै फर्किएको दाबीसहित चर्चा हुने गरेको छ।
उपनिर्वाचनका क्रममा नेकपाबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले गत चैत अन्त्यमा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि उनी एमालेमा फर्किएको कुरा बाहिर अहिले चर्चामा छ। 'फेरि उहाँ आफ्नै पार्टीमा फर्किएको भन्ने छ,' नेकपा (एमाले) दाङका अध्यक्ष हुकुम बस्नेतले भने, 'उहाँ पुरानै घरमा आउनु स्वागतयोग्य हो।'
माओवादी केन्द्रबाट दाङको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित इन्द्रजीत चौधरीले वली आफू र पार्टीको सम्पर्कमा नआएको बताए। वली शुक्रबारदेखि माओवादी नेताहरूको सम्पर्कमा आएकी छैनन्। उनले भने, 'उहाँ फेरि एमालेमा गएको भन्ने हामीले सुनेका छौं।'
एमाले नेताहरूको मात्रै फोन उठाउने गरेको हुँदा पनि आशंका भएको उनले बताए।
एक प्रदेश सांसदले उनलाई शंकर पोखरेलको पक्षमा हस्ताक्षर गराउन एमालेका नेताहरूले बन्धक बनाएको आरोपसमेत लगाएका छन्।
‘बिमलाजीलाई मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा हस्ताक्षर गराउन एमालेका नेताहरुले बन्धक बनाएर राखेको भन्ने सुनेका छौं,’ एक प्रदेश सांसदले भने, ‘तर उहाँले अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गर्न नमानेको सुनेको छु।’
उनले एमालेका नेताहरूले आफ्नो पक्षमा बहुमत पुर्याउन सांसद किनबेचमा लागेकोसमेत आरोप लगाएका थिए।
‘बिमलाजी कहाँ हुनुहुन्छ भन्ने अझैं टुङ्गो छैन,’ उनले भने, ‘उहाँलाई बन्धक बनाएर जबरजस्ती लोभलालच देखाएर हस्ताक्षर गराउन खोजिएको कुरा सुनेको छु।’ तर बाँकेका प्रहरीका अनुसार वली उपचारका क्रममा बाँकेमा छिन्।
वली आफ्नो घाँटीको उपचार गराउन नेपालगञ्ज पुगेको दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले बताएका छन्।
‘मैले शुक्रबार पनि फोनमा कुरा गरेको थिएँ र शनिबार बेलुका पनि कुरा गरेको थिएँ,’ एसपी काफ्लेले भने, ‘उहाँले आफू नेपालगञ्जमा उपचाररत रहेको र कुनै समस्या नरहेको बताउनुभएको छ।’
नेपालगञ्जमा बिमलाको माइती घर पनि छ।
श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा बिमलालाई तत्कालिन नेकपा दाङले उम्मेदवार बनाएको थियो। त्यस चुनावमा उनी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएकी थिइन्।
राष्ट्रिय सभा सदस्य कोमल वलीले पनि बिमला एमालेमा फर्किसकेको दाबी गरेकी छन्।
‘हामीले सम्झाइबुझाइ गरेपछि बिमला फेरि एमालेमा आउनुभएको हो,’ वलीले भनिन्, ‘उहाँ हाल नेपालगञ्जमा हुनुहुन्छ र मसँग निरन्तर संवाद भइरहेको छ।’
आफूहरूले बिमलालाई उनका श्रीमान् एमालेबाट निर्वाचित भएको र त्यही कारण उनको ठाउँमा एमालेले टिकट दिएको कुरा सम्झाएपछि उनी एमाले फर्किन तयार भएको उनले बताइन्।