भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी साइकल चढेर संसद भवन पुगेका छन्। ग्यास, पेट्रोल, डिजेल लगायत इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार साइकल चढेर उनी संसद भवन पुगेका हुन्।
उनीसँगै अरू नेताहरू पनि साइकलमा संसद भवन पुगेका थिए। त्यसअघि उनको नेतृत्वमा नयाँ दिल्लीस्थित कन्स्टिच्युसनल क्लबमा विपक्षी दलका नेताको बैठक बसेको थियो। बैठकमा १४ विपक्षी दलका नेता सहभागी भएका थिए।
बैठकपछि गान्धीको नेतृत्वमा उनीहरू संसद भवनमा साइकल चढेर पुगेको एनडिटिभीले जनाएको छ। साइकलमा उनले 'अच्छे दिन?' लेखिएको ग्यासको तस्वीर राखिएको थियो। त्यसक्रममा उनलाई सुरक्षाकर्मीहरूले घेरेका थिए। सुरक्षाकर्मीले उनलाई घेरेर दौडिरहेको भिडिओ समेत सार्वजनिक भएको छ।
'सरकारको ध्यान तान्ने उपायमध्ये एक संसदसम्म साइक्लिङ गरेर हो। भारतका मानिसहरू संघर्ष गरिरहेका छन्,' गान्धीले बैठकमा भनेका थिए।
अघिल्लो हप्तामात्रै उनी ट्रयाक्टर चढेर संसद पुगेका थिए। उनले नयाँ किसान कानुनको विरोधमा ट्रयाक्टर चढेर संसद पुगेका थिए।
भारतको मनसुन अधिवेसन जुलाई १९ मा सुरू भएको थियो। संसद चलेको दुई हप्तामा १८ घण्टामात्रै संसद चलेको छ।